काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७४ सालको स्थानीय तहको निर्वाचनमा आफूले काठमाडौ महानगरपालिकाको मेयर पदमा चुनाव जितेमा काठमाडौंमा मनो रेल र मेट्रो रेल निर्माण गर्ने र आफू मेयर पदबाट बिदा भएर जाँदा मेट्रो रेल चढेर बिदा हुन्छु भनेर गरेको बाचा पदाबधि सकिनै लाग्दा पनि त्यसको यसबेलासम्म प्रारम्भिक कार्यसम्म पनि शुरु हुन सकेको छैन । जसले गर्दा उहाँको त्यो बाचा झुठ सावित भएको देखिएको छ । शाक्यको आउदो जेठ ४ गतेदेखि मेयरको पदावधि सकिने छ । यता नेपाल सरकारले पनि आउदो बैशाख ३० गते देशैभरका स्थानीय तहको एकै चरणमा निर्वाचन सम्पन्न गर्ने घोषणा गरिसकेको छ भने निर्वाचन आयोगले पनि सो निर्वाचनको तयारी थालेको जनाएको छ ।
मेयर शाक्यले जसरी नै चुनाव जित्नको लागि चुनावमा मतदाता समक्ष उम्मेद्वारहरुले गर्न सक्ने नसक्ने सबै खाले काम गर्छु भनेर बाचा गर्ने तर चुनाव जितेपछि त्यसबारेमा सिन्कोसम्म पनि नभाच्ने प्रबृत्ति बढ्दै गएफछि जनताको राजनीतिप्रति बितिष्णा बढ्दै गएको देखिएको छ । जसका कारण धेरै मानिसहरुले ‘जुन जोगी आएपनि कानै चिरेको …….’ भनेर राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई गाली गर्ने गरेका छन् । कतिपय व्यक्तिहरुहरुले चुनावमा उम्मेद्वार बन्नेहरुलाई भोलि तिमी चुनाव जितेर गएपछि हाम्रा लागि केही गर्ने होइनौँ, बरु हाम्रै नाममा भ्रष्टाचार गर्ने त हौ नि , त्यसैले तिमी मैले भोट दिए बापत कति पैसा दिन्छौँ भनेर बार्गैनिङ गर्ने प्रचलन बढ्दै गएको छ । शक्तिका हिसावले ठूला राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि मतदाताको मत आफूतिर तान्न पैसा बाढ्ने, भोजभतेर गर्ने जस्ता कार्यहरु गर्ने गरेका छन् । जसले गर्दा राजनीति बिकृति बन्दै गएको देखिएको छ । राजनीतिलाई बिकृति रहित बनाउन स्वयम् राजनीतिक दलका नेता कार्यकर्ताहरु नै लाग्नु पर्ने खाँचो रहेको नागरिकहरुको भनाई छ ।