अन्तत: ८ दलले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन र सहयोग निर्णय गरेको नेकपा (एस)का नेता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ । आज अपरान्ह बसेको नेपाली कांग्रेस, नेकपा (माके), जसपा ,नेकपा (एस), जनमत पार्टी , लोसपा , नागरिक उन्मुक्ति पार्टी , राष्ट्रिय जनमोर्चाका नेताहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको सोही बैठकमा सहभागी नेता ज्वालाले सञ्चारकर्मीहरुलाई बताउनुभयो । यससँगै ती दलहरु बीच सहयात्रा गरेर अगाडि बढ्ने सहमती भएको उहाँको भनाई छ । यससँगै गत पुस १० गतेबाट शुरु भएको नेकपा (एमाले) सहितका दलहरुको सत्ता गठबन्धनको भविष्य २ महिनामै संकटमा परेको छ ।
८ दलको बैठक अघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली बीच प्रधानमन्त्री निवास, बालुवाटारमा २ घण्टा छलफल भएपनि सहमती हुन नसकेको बताइएको थियो । आजै विहान नेपाली कांग्रेस, नेकपा (माके), जसपा र नेकपा (एस)का नेताहरु बीच राष्ट्रपतिको विषयमा छलफल भएको थियो ।
यता भोलि विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म राष्ट्रपति पदमा उम्मेद्वार मनोनयन गर्ने समय तालिका निर्वाचन आयोगले निर्धारण गरेको छ ।





