काठमाडौं/ मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउदो जेठ ३ गतेका लागि आइतबार संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार नै राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा २ वटा अध्यदेश पनि जारी गर्नु भएको जनाइएको छ ।
जेठ १५ गतेसम्ममा सरकारले संघीय संसदमा बजेट प्रस्तुत गर्नु पर्ने संबैधानिक व्यवस्था छ । बजेट प्रस्तुत गर्नु अघि संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ , जुन नीति र कार्यक्रममा आधारित रहेर संसदमा सरकारको बजेट पेश हुने गर्दछ ।
बजेट कार्यान्वयनप्रति असन्तुष्टि
प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने र असार मसान्त भित्र संसदबाट बजेट पारित हुने गरेको भएपनि बजेटको कार्यान्वयन भने राम्रोसँग हुन सकेको छैन । बजेटमा उल्लेखित साधारण खर्च भएपनि विकास खर्च भने मुस्किलले १ तिहाईसम्म हुने गरेको जानकारहरु बताउछन् । जसले एकातिर विकासमा सन्तुलन कायम गरेको देखिदैन् भने अर्कातिर त्यसप्रति नागरिकहरुमा असन्तुष्टि बढ्दै गएको देखिन्छ । सरोकारवालाहरु भने सरकारले हात्तीको आकारमा संसदमा बजेट पेश गर्ने तर कार्यान्वयन भने विरालाको आकारमा हुने प्रवृत्तिले समाजमा असन्तुष्टि बढृदै गएको बताउछन् । अग्रगामी परिवर्तनको दिशामा अगाडि बढ्ने हो भने तीनै तहका सरकारले एक अर्का बीच समन्वय गरी लक्ष्य अनुरुप राम्रोसँग बजेटको कार्यान्वयनमा लाग्नुको विकल्प नरहेको उनीहरुको भनाई छ ।
बजेटको संसोधित व्यवस्था कार्यान्वयन नभएको गुनासो
बर्तमान देउवा सरकारले पूर्ववर्ती ओली सरकारले अध्यादेश मार्फत जारी गरेको चालु आर्थिक वर्षको बजेटको संशोधित व्यवस्था कार्यान्वयनमा ध्यान नदिएकोले मुलुकमा वित्तीय समस्या बढेको कतिपय जानकारहरुले गुनासो गरेका छन् तर सरकारले भने त्यसलाई अस्वीकार गरेको छ ।