बुटवल / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने र सो चुनाव बहिस्कार पनि नगर्ने नीति लिएको जानकारी प्राप्त भएको छ । यही चैत ६ गतेदेखि कपिलवस्तु शिवपुरमा जारी सो पार्टीको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले चुनावमा भाग लिनु पर्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त प्रस्तावलाई बैठकबाट पारित गराउन सोही पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्ड सहितका नेताहरु लागेपनि ६९ सदस्यीय केन्द्रीय समिति सदस्यहरु मध्ये त्यस प्रस्तावको पक्षमा २५ र विपक्षमा ४४ जना केन्द्रीय सदस्यहरु रहेपछि उक्त नीति लिइएको बताइएको छ । आफूले स्थानीय तहको चुनावमा भाग नलिएपनि एमसीसी सम्झौताको विरोधमा उभिने उम्मेद्वारलाई सहयोग गर्ने नीति सो पार्टीको रहेको जनाइएको छ । उक्त बैठक आज सकिने त्यसै पार्टी श्रोतको भनाई छ ।
यता नेकपा (क्रान्तिकारी माओवादी)ले पनि स्थानीय तहको चुनावमा भाग नलिने भनी यस अगाडि नै निर्णय गरी सकेको छ । उक्त पार्टी भित्र स्थानीय तहको चुनावमा भाग लिनुपर्छ भन्ने र सो चुनावमा भाग लिनु हुदैन भन्ने विचार देखा परेपछि पार्टीको केन्द्रीय समितिको बैठकबाट बहुमतले सो निर्णय गरेको बताइएको थियो ।