काठमाडौं/ विप्लव नेतृत्वको नेकपाले आफ्ना २ जना केन्द्रीय सदस्यलाई निष्काशन गरेको जनाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले चुनावलाई उपयोग गर्ने पार्टीको नीति विरुद्ध अफवाह फैलाएको भन्दै आफ्ना केन्द्रीय सदस्यद्वय गुणराज लोहनी र दीपक चलाउनेलाई निलम्वन गरेको सोही पार्टीका प्रवक्ता प्रकाण्डद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । गत हप्ता उक्त पार्टीले आफ्ना केन्द्रीय सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई कारवाही गरेको थियो ।
यता सो पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय तहको निर्वाचनमा देशभक्त र वैज्ञानिक समाजवादी विचार बोक्ने उम्मेद्वारलाई मतदान गर्न मतदाताहरु समक्ष अपिल गर्नु भएको उक्त पार्टीले जनाएको छ ।
असन्तुष्ट समूहको भेला जारी
उक्त पार्टीको असन्तुष्ट समूहको बुधबारबाट चितवनको पर्सामा शुरु भएको भेला जारी रहेको जनइएको छ । भेलाबाट नयाँ पार्टी बनाउने योजना रहेको एक सहभागीको भनाई छ । भेलाले सो पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द ‘विप्लव’लाई हटाई धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई संयोजक चयन गर्नुका साथै प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि हटाएको जनाइएको छ ।