काठमाडौं/ गए राती १२ बजेदेखि संघीय संसदको जारी हिउँदे अधीवेशन अन्त भएको छ । मंगलबार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको जारी हिउदे अधिवेशन अन्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चौतर्फी विरोधका बीच संसदको यो अधिवेशनले एमसीसी(MCC) सम्झौता पारित गरेको थियो तर त्यो बाहेक भने अरु केही गरेन । संसदको यो अधिवेशन विद्येयक अधिवेशन भएपनि यो अधिवेशनमा न त कुनै विद्येयक नै अगाडि बढ्यो , न त मुलुकले भोगिरहेको वित्तीय संकट जस्ता समस्याको विषयमा नै छलफल भयो । आफ्ना १४ जना सांसदको बर्खास्ती नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध यो अधिवेशन भर पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को वेल घेराउ र नाराबाजी जारी रह्यो भने त्यसलाई देखाएर सत्तापक्षले मुलुकका जल्दाबल्दा समस्याको विषयमा संसदमा कुनै छलफल गरेन ।
यता संसदको हिउँदे अधिवेशन अन्त भएसँगै प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध प्रतिनिधि सभामा नेकपा (माके) का प्रमुख सचेतक देव गुरुङले पेश गर्नु भएको महाअभियोग प्रस्ताव अलपत्र परेको छ । सो महाअभियोग प्रस्ताव माथि आजदेखि छलफल गर्ने कार्यसूची रहेको बताइएको थियो ।