काठमाडौं/ तत्कालीन अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत जेठ १४ गते मध्यरातमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको भन्ने आरोप लागेपछि सोही विषयमा उहाँमाथि छानविन गर्न गठित ११ सदस्यीय विशेष छानविन समितिले समय मिलाएर आज आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी गरिरहेको जनाइएको छ । बिहीबार अपरान्हसम्ममा सो समितिले आफ्नो छानविन प्रतिवेदन लेख्ने काम सकेको बताइएको थियो तर त्यो प्रतिवेदनमा सबै सदस्यहरुको समान धारणा बने नबनेको बारे भने केही बताइएको छैन ।
गत जेठ १४ गते मध्यरातको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हटाएकोले सो विषयमा छानविन गर्न समस्या भएको जनाइएको थियो । हटाइएको उक्त सीसीटीभी फुटेज रिभाइभका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो तर सो प्रयोगशालाले रिभाइभ गरेको त्सीयस सीटीभी फुटेजमा स्पष्ट नदेखिएको जानकारहरुले बताएका थिए ।
सो समितिले पूर्व अर्थ मन्त्री शर्मा सहित अर्थ मन्त्रालयका अधिकारीहरुसँग बयान लिएको थियो तर कसैले पनि गत जेठ १४ गते राती कोही पनि अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश नगरेको बयान दिएको श्रोतले जनाएको छ । चौतर्फी विरोध भएपछि आफू माथि छानविन गर्न गठित संसदीय विशेष समितिलाई छानविनमा सहयोग गर्न भन्दै अर्थ मन्त्री शर्माले अर्थ मन्त्रीको पदबाट राजिनामा दिनु भएको थियो । पूर्व अर्थ मन्त्री शर्माले भने आफू निर्दोष रहेको बताउदै आउनु भएको छ ।
१० दिनको कार्य अवधि भएपनि सो समयमा उक्त समितिले सो अवधिमा आफ्नो कार्य सम्पन्न गर्न नसकेपछि यो समितिको कार्य अवधि म्याद एक हप्ता थप गरिएको थियो । यस समितिको थप गरिएको कार्य अवधि पनि बिहीबार सकिएको छ ।