काठमाडौं/ राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मार्गदर्शक सिद्धान्त मानिरहेको राष्ट्रिय प्रजातन्त्र प्रजातन्त्र पार्टीले समान विचार भएका पार्टी तथा समूहसँग एकताको पहल शुरु गरेको छ । यही मंसीर १५ देखि १७ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरेको सो पार्टीको बुधबार बसेको पहिलो बैठकले समान विचार बोकेका दल तथा समूहसँग एकताका लागि वार्ता गर्ने र त्यसका लागि महामन्त्री धवल शमशेर जबराको नेतृत्वमा बार्ता टोली बनाउने निर्णय गरेसँगै उक्त पहल शुरु भएको बताइएको छ । एकात्मकता, संबैधानिक राजतन्त्र र हिन्दू धर्मको पक्षमा रहेका पशुपति शमशेर जबरा,डा.प्रकाशचन्द्र लोहनी र कमल नेतृत्वका राप्रपाका ३ वटै पार्टी एकीकरण भएपछि सम्पन्न एकता महाधिवेशनबाट अध्यक्ष कमल थापालाई अध्यक्ष पदको निर्वाचनमा पराजित गरी सांसद तथा नि:बर्तमान महामन्त्री राजेन्द्र लिङ्देन विजय भएका थिए तर केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यमा भने दुबै पक्षको प्रतिनिधित्व भएको थियो । पार्टी महाधिवेशनमा अध्यक्ष पदमा पराजित कमल थापा भने यतिबेला निर्मल निवासलाई गाली गर्न थालेका छन् । निर्मल निवासको कारणले आफूले अध्यक्ष पदमा पराजीत हुनु परेको बताइरहेका छन् । उनी यो महाधिवेशनमा निर्मल निवासको सम्लग्नता बारे छानविन हुनु पर्ने अडानमा छन्, जसका कारण उनी बुधबार बसेको राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा समेत उपस्थित भएनन् तर यता उक्त पार्टीका नवनिर्वाचित अध्यक्ष लिङ्देन भने आफ्नो जीतमा निर्मल निवासको भूमिका रहेको भन्ने नि:बर्तमान अध्यक्ष थापाको भनाई अस्वीकार गरिरहेका छन् । कतिपय जानकारहरु भने आफ्नो लागतलाई बलियो बनाउनकै लागि राजावादीहरुले नयाँ नेतृत्व चयन गरेको बताउछन् ।
लिङ्देन राप्रपाको अध्यक्ष बनेसँगै अरु दलका युवाहरुमा तरङ्ग
एकाध बाहेकका प्राय: सबैजसो राजनीतिक दलको नेतृत्वमा पाका पुस्ता हावी भइरहेको बेला दोस्रो पुस्ताका राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धाबाट राप्रपाको अध्यक्ष बनेपछि त्यसको प्रभाव अरु राजनीतिक दलहरुका युवाहरुमा परेको छ । यसले उनीहरुमा नयाँ तरङ्ग पैदा गरेको छ , जसका कारण उनीहरुले नयाँ छलफल आरम्भ गर्न थालेको देखिएको छ ।