हरियो मतपत्रप्रति एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री शर्मा बीच जुहारी

काठमाडौं/ निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्र हरियो र स्वस्तिक चिन्ह निलो रङको बनाउने भनेर गरेको निर्णयप्रति नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बीच जुहारी चलेको छ । अध्यक्ष ओलीले सरोकारवाला पक्ष राजनीतिक दलहरुप्रति कुनै छलफल नगरी निर्वाचन आयोगले हरियो रङको मतपत्र छाप्ने निर्वाचन आयोगको सो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै निर्वाचन आयोगले हरियो रङको मतपत्र छाप्नुको औचित्य पुष्टि गर्नुपर्ने बताउनु भएको छ । मंगलबार ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सो पार्टीको महिला संगठन अनेम संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अदालत, सरकार र सभामुखसँगै निर्वाचन आयोग पनि आफ्नो पार्टी बिरुद्ध लागेको बताउनु भएको थियो ।

यता सोही विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगको मतपत्र छाप्ने कार्य राजनीतिक नभई नितान्त प्राविधिक विषय मात्रै भएकोले दलहरु यस्तो प्राविधिक विषयमा अल्झिन छाडेर पार्टीका नीति र विचार माथि बहसमा लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

उता निर्वाचन आयोग , नेपालका अधिकारीले पनि विगतमा पनि हरियो, कालो आदि रङको मतपत्र छापेको र आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि हरियो मतपत्र छाप्ने कार्य नितान्त प्राविधिक मात्रै भएको बताएका छन् ।

Leave a Reply