काठमाडौं/ आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । सो चुनाव एकै चरणमा सम्पन्न गर्ने सरकारको योजना रहेको उहाँको भनाई छ । हालका स्थानीय तहका जनप्रतिनिधिको पदावधि २०७९ जेठ ५ गतेबाट सकिदै छ ।
यता निर्वाचन आयोगले भने सो निर्वाचन सम्पन्न गर्न एक लाख म्यादी प्रहरी भर्ना गर्ने योजना रहेको जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति तोक्न चौतर्फी दवाव बढ्दै गएपछि सरकारले आज उक्त निर्वाचनको मिति घोषणा गरेको हो तर कतिपयले भने कोरोना कहरको जोखिम बढ्न सक्ने खतराका कारण २०७९ बैशाख ३० गते स्थानीय तहको चुनाव हुनेमा शंका व्यक्त गरेको देखिएको छ ।
उता संघ, प्रदेश र स्थानीय तहको चुनावको मिति सरकारले घोषणा गर्ने भन्दा पनि त्यसको मिति अग्रिम रुपमा किटान नै हुनुपर्ने र संघको निर्वाचनको लागि सर्वोच्च अदालतका पूर्व न्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाएर त्यस सरकारले संघको चुनाव गर्नु पर्ने आवाज पनि उठिरहेको देखिएको छ ।