५ दलीय गठबन्धनमा मिल्यो महानगर र उप-महानगरपालिकामा उम्मेद्वारको भागबण्डा

काठमाडौं/ आगामी बैशाख ३० हुने देशभरका पालिकाहरुको निर्वाचनमा गठबन्धन गरी मिलेर चुनाव लड्ने सहमती गरेका सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले ६ महानगरपालिका र ११ उप-महानगरपालिकामा मेयर र उप-मेयर पदका उम्मेद्वारको भागबण्डा टुङ्गो लगाएको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पाँच दलीय गठबन्धनको बैठकले उक्त निर्णय गरेको सो गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेकपा (एस)का अध्यक्ष माधबकुमार नेपाल , जसपाका अध्यक्ष उपेन्द्र यादब र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । जस अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका तथा इटहरी , धरान , कलैया , बुटवल , तुलसीपुर, नेपालगञ्ज र धनगढी उप-महानगरपालिकामा मेयर र बिरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा जनकपुर, जीतपुर सिमरा , हेटौंडा र घोराही उप-महानगरपालिकामा उप-मेयर परेको छ । यसैगरी नेकपा (माके) को भागमा भरतपुर महानगरपालिका तथा जीतपुर सिमरा र घोराही उप-महानगरपालिकामा मेयर र ललितपुर महानगरपालिका तथा धरान र धनगढी उप-महानगरपालिकामा उप-मेयर परेको छ । त्यसैगरी नेकपा (एस)को भागमा पोखरा महानगरपालिका तथा हेटौंडा उप-महानगरपालिकामा मेयर र काठमाडौं महानगरपालिका तथा इटहरी , बुटवल र तुलसीपुर उप-महानगरपालिकामा उप-मेयर परेको छ । त्यस्तैगरी जसपाको भागमा बिरगञ्ज महानगरपालिका तथा जनकपुर उप-महानगरपालिकामा मेयर र विराटनगर महानगरपालिका तथा कलैया र नेपालगञ्ज उप-महानगरपालिकामा उप-मेयर पद परेको छ । उक्त गठबन्धनमा रहेका दलहरु बीच सहमती हुन नसकेको अवस्थामा गठबन्धनमा रहेका दल बीच मित्रवत प्रतिस्पर्धा हुने सहमती भएको सोही विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनको केन्द्रमा भागबण्डा, तल बिरोध

सत्ता गठबन्धनको केन्द्रमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उप-महानगरपालिकामा उम्मेद्वारको भागबण्डा टुङ्गो लागेपनि त्यसको तल भने विरोध भइरहेको छ । यसको विशेषगरी नेपाली कांग्रेस भित्र बिरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा हेटौंडा र जनकपुर उप-महानगरपालिकामा मेयर आफ्नो भागमा नपरेको भन्दै व्यापक विरोध भएको देखिएको छ । यता नेपाली कांग्रेसका नेता तथा गृह मन्त्री बालकृष्ण खाणले भने ५ दलीय सत्ता गठबन्धनको निर्णय कार्यान्वयन गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै यदी कसैले ५ दलीय गठबन्धनको निर्णय नमानेमा उसलाई पार्टीबाट कारबाही गर्ने चेतावनी दिनु भएको छ । त्यसैगरी नेकपा (माके) भित्र पनि पालिकाको उम्मेद्वारीको विषयलाई लिएर दाङ लगायतका जिल्लामा असन्तुष्टि देखिएको छ ।

.. ‌‌‌‌‌……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

.

Leave a Reply