काठमाडौं/ एमसीसी(MCC) सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको आजको बसेको संयुक्त बैठकले ती दलहरु तथा मोर्चाले एमसीसी सम्झौता विरुद्ध सञ्चालन गरिरहेको संयुक्त जनसंघर्षको समीक्षा गरी थप संघर्षको कार्यक्रम घोषणा गरेको जनाइएको छ । उक्त बैठकले ती दलहरु तथा मोर्चाले यही फागुन ८ गते दिनको १२:३० बजे माइतीघर मण्डलाबाट संयुक्त विरोध प्रदर्शन गरी संसद भवन घेराउ गर्ने र सोही दिन काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेको सोही बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य अर्जुन कार्कीले अलगपथलाई बताउनुभयो । फागुन ८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेवुल गर्ने गरी सरकार लागेकोले सो कार्यक्रम आयोजना गरेको कार्कीको भनाई छ ।