८ कम्युनिष्ट पार्टीले आज एमसीसी सम्झौताको विरोधमा एमसीए कार्यालय र भोलि संसद भवन घेराउ गर्ने

काठमाडौं/ एमसीसी (MCC) सम्झौताको खारेजीको माग गर्दै ८ कम्युनिष्ट पार्टी तथा मोर्चाले आज दिउसो १ बजे दरवारमार्गस्थित याक एण्ड यति होटलमा रहेको एमसीए, नेपालको कार्यालय र भोलि दिउसो १ बजे नयाँ बानेश्वरमा रहेको संघीय संसद भवन घेराउ गर्ने भएका छन् ‌‌। नेपाल कम्युनिष्ट पार्टी , नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (मसाल),नेकपा (माले),राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको नेतृत्वमा उक्त विरोध कार्यक्रम हुन लागेको जनाइएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन जारी भइरहेको र नेकपा (माके) पनि आफ्नो राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित भइरहेको बेला एकाएक प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुलाई संघीय संसदमा एमसीसी (MCC) सम्झौता टेवल गरी पारित गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेस , नेकपा (एमाले) लगायतका दलका नेताहरु रहेकोले ‘ राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, राष्ट्रघाती एमसीसी (MCC) सम्झौता खारेज गरौं’ भन्ने नाराका साथ आज र भोलि सो विरोध कार्यक्रम आयोजना गरिएको र संसदबाट राष्ट्रघाती एमसीसी सम्झौता पारित हुन नदिन यो विरोध कार्यक्रममा सहभागी हुन ती दलका नेताहरुले सबै देशभक्तहरुलाई आह्वान गरेका छन् । भोलि दिउसो अपरान्ह बस्ने गरी आह्वान गरिएको संघीय संसदको अधिवेशन बोलाउने विषयमा सत्तापक्षीय घटक दलका नेताहरु बीच सल्लाह नभएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । नागरिकहरुको विरोधका बाबजुद पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवालाई नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले साथ दिनै र अहिलेको ५ दलीय सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउने सम्भावना रहेको कतिपय जानकारहरुको बुझाई रहेको देखिन्छ । यता संघीय संसदको यो अधिवेशनमा एमसीसी सम्झौता टेवल हुने हो कि होइन भन्ने बारेमा स्पष्ट हुन सकेको छैन ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन नहुदै एमबीए, नेपाल मार्फत एमसीसी परियोजनाको नाममा ५ अर्व रुपैया भन्दा बढी खर्च भई सकेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *