८ कम्युनिष्ट पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै संसद घेरे, सुरक्षाकर्मीद्धारा धरपकड

काठमाडौं/ ८ कम्युनिष्ट पार्टीले एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै मंगलबार संसद घेराउ गरे । संघीय संसदको अधिवेशनमा एमसीसी सम्झौता टेवल गरी पारित गर्ने चर्चा चलिरहँदा सडकमा एमसीसी खारेजीको माग गर्दै सडकमा निस्केका विरोध प्रदर्शनकारीहरुले सुरक्षाकर्मीको घेरा तोडेर संघीय संसद भवन तर्फ अगाडि बढ्न खोजेपछि तनावको स्थिति सिर्जना भएको थियो र सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । त्यसक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्ड सहित दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए भने एमसीसीको बिरोधमा उत्रिएका ७३ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो । यता प्रहरीले लाठ्ठी प्रहार गरी विरोध प्रदर्शनमा माइक राखेर ल्याएको गाडीको सिसा फुटाएको थियो ।

सुरक्षाकर्मीले बल प्रयोग गरेर प्रदर्शनकारीहरुलाई तितरबितर गर्न खोजेपनि प्रदर्शनकारीले विरोध रोकेनन् । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्ड, नेता ओमप्रकाश पुन ,नेकपा (माले) का महासचिव सीपी मैनाली , नेकपा (क्रान्तिकारी) (माओवादी) का नेता हस्तबहादुर मल्ल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्की लगायतले एमसीसी सम्झौता खारेज नभए थप शसक्त विरोध कार्यक्रम गर्ने बताउनुभयो । उहाँहरुलेले प्रहरी हस्तक्षेपको भत्सर्ना गर्दै प्रहरीको लाठीचार्जबाट घाइते भएका प्रदर्शनकारीहरुको राज्यले नि:शुल्क उपचार गर्न , प्रहरीले गिरफ्तार प्रदर्शनकारीहरुलाई अविलम्व रिहा गर्नु पर्ने बताउनुभयो ।

मंगलबार साँझ नै ८ दलका शीर्ष नेताहरुले विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता खारेजीको माग गर्दै संसद घेराउ र एमसीए कार्यालय घेराउ कार्यक्रममा सहभागी सबै देशभक्त नागरिकहरुलाई धन्यबाद ज्ञापन गर्दै एमसीसी सम्झौता खारेज नभए थप शसक्त कार्यक्रम गर्ने बताएका छन् । उनीहरुले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सुरक्षाकर्मीले दमन गरेको घटनाको भत्सर्ना गर्दै सो घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको राज्यले नि:शुल्क उपचार गर्न र प्रहरीले गिरफ्तार गरेका सबै प्रदर्शनकारी अविलम्व रिहाई गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *