काठमाडौं/ राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदलापद तथा गोपनीयताको सपथ गराइएको छ । आज दिउसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ती सांसदहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकालको सफलताको कामना व्यक्त गर्नुभयो ।
गत माघ १२ गते ६ वर्षे कार्यकाल रहने गरी राष्ट्रिय सभाको १९ जना सांसदको लागि सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका ६, नेकपा (माके) र नेकपा (एस)का ५/५ तथा नेकपा (एमाले), जसपा र राष्ट्रिय जनमोर्चाका १/१ जना उम्मेद्वार विजयी हुनु भएकोको थियो । ५ दलीय गठबन्धनका १९ जना उम्मेद्वार मध्ये जसपाका उम्मेद्वार हेमराज राई मात्रै पराजित हुनु भएको थियो भने १ नं प्रदेशबाट नेपाली कांग्रेसका उम्मेद्वार गोपालकुमार बस्नेत र नेकपा (एमाले)का उम्मेद्वार गुरु बरालले बराबर मत ल्याएपनि गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेद्वार बस्नेत विजयी हुनु भएको थियो । त्यस्तै वि.सं. २०५१ सालदेखि संसदीय चुनावमा भाग लिएको राष्ट्रिय जनमोर्चाको पहिलो पटक राष्ट्रिय सभामा प्रतिनिधित्व भएको छ । हाल प्रतिनिधि सभामा सो पार्टीकी उपाध्यक्ष दुर्गा पौडेल सांसद हुनुहुन्छ ।
राष्ट्रिय सभामा उपाध्यक्ष र प्रतिनिधि सभामा उप सभामुख पद रिक्त
सुक्रबार ४ वर्षे कार्यकाल सकिएर बिदा भएका १९ जना सांसदको लहरमा संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल पनि पर्नुभयो । नेकपा (माके)को तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित दाहाल राष्ट्रिय सभाबाट बिदा भएसँगै राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै हुनुहुन्छ । नेकपा (एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका तिमिल्सिनाको ६ वर्षे कार्यकाल मध्ये अझै २ वर्ष बाँकी छ ।
यता संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा बिगत लामो समयदेखि उप सभामुख बिहीन छ । प्रतिनिधि सभाकी उप-सभामुख शिवमाया तुम्बाहाम्फे पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि सो पद रिक्त छ । संसद भित्रका ठुला दलहरु बीचको खिचातानीका कारण लामो समय बितिसक्ता पनि अझैसम्म उप-सभामुख पद रिक्त छ ।