रास्वपा ,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उदाए , राप्रपा पनि बलियो बन्दै

गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी , चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र जेलमा रहेका नि:बर्तमान सांसद रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिको रुपमा उदाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाको प्रत्यक्षतर्फ काठमाडौंको क्षेत्र नं.२ मा सोविता गौतम , ६ मा शिशिर खनाल , ७ मा गणेश पराजुली र ८ विराजभक्त श्रेष्ठले ८ मा विजय हासिल गरेका छन् भने ललितपुरको क्षेत्र नं.३ तथा चितवनको क्षेत्र नं१ र २ मा सो पार्टीले अग्रता लिएको छ भने उसले १ लाख ९ हजार भन्दा मत प्रतिनिधि सभाको समानुपातिकतर्फ प्राप्त गरेको जनाइएको छ ।

यसैगरी मधेशको सप्तरी , रुपन्देही सहितका केही जिल्लामा जरो गाड्दै गएको चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी पनि प्रतिनिधि सभा तथा मधेश प्रदेश सभा र लुम्विनी प्रदेश सभामा आफ्नो प्रतिनिधित्व गराउन सफल भएको छ । सो पार्टीका अध्यक्ष राउतले सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई झण्डै दोब्बर मतान्तरबाट पराजित हुने अवस्थामा पु-याएको छ ।

त्यस्तैगरी पश्चिमका तराई क्षेत्रमा जरो गाड्दै गरेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नं.३ बाट उक्त पार्टीका गंगाराम चौधरीले विजय हासिल गर्नु भएको छ भने कैलाली क्षेत्र नं.१ मा सोही पार्टीकी रञ्जिता श्रेष्ठले अग्रता लिइरहनुभएको छ । कैलाली क्षेत्र नं.३ मा पनि सो पार्टी , नेकपा (माके) र नेकपा (एमाले)का उम्मेद्वार बीच कडा प्रतिस्पर्धा छ ।

यता २०७४ सालको निर्वाचनमा कमजोर देखिएको राप्रपा यस पटक अलि मजबुत बनेको छ । यस अघि उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मात्रै प्रतिनिधि सभामा हुनुहुन्थ्यो भने यस पटक बाँके क्षेत्र नं.२ मा सो पार्टीका उम्मेद्वार धवल शमशेरले जसपाका मोहमद इस्तियाक राईलाई ५,०५७ मतान्तरले पराजित गरी विजयी हुनु भएको छ भने सोही पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं.३ मा , नेता विक्रम पाण्डेले चितवन क्षेत्र नं.३ मा , ज्ञानबहादुर शाहीले जुम्लामा र त्यसै पारटीका नेता तथा पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधानले नवलपुर क्षेत्र नं.२ मा अग्रता हासिल गर्नुका साथै नेता दीपक बोहोरा र नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण बीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फ पनि उक्त पार्टीले राम्रै मत प्राप्त गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *