लगानी प्रवर्द्धनका लागि दक्षिण कोरियाका राजदूतसँग नेपाल उद्योग परिसंघको छलफल

नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङ्ग (Park Tae-Young) बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको छ ।
नेपाल उद्योग परिसंघको सचिवालयमा २०८१ जेठ २ गते बुधवार भएको छलफलमा सोही परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले दुई देश बीचको कुटनैतिक सम्बन्ध स्थापित भएको ५०औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको बताउनुभयो । अध्यक्ष अग्रवालले कोरियाली लगानी कर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन, जलविद्युत, कृषि लगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङ्गलाई आग्रह गर्नुभयो । सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केही कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तब्य रहेको बताउनुभयो । दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तब्य बन्दै गइरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरियामा सिकेको शीप नेपालमा उद्यमशीलताका साथै समग्र आर्थिक विकासमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शीप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गर्नु भयो । परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन-२०२४ मा कोरियाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङ्गसँग उहाँले आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टेइ योङ्गले नेपाल उद्योग परिसंघले सञ्चालन गरेको ‘मेक ईन नेपाल – स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्‍याउने बताउनुभयो । राजदूत तइयोङ्गले कोरियाको श्रम बजारमा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू मेहनती तथा ईमान्दार रहेको विचार व्यक्त गर्नुभयो । उहाँले मुलुकमा उत्पादन हुने बस्तु तथा सो बस्तु उत्पादन हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी बस्तुहरूमा भन्सार दरमा भिन्नता हुनु पर्नेमा जोड दिनुभयो । नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरिया सदैव सकारात्मक रहेको उहाँले बताउनभयो ।
छलफलमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्ष निर्वाण चौधरी, राजबहादुर शाह तथा रोहित गुप्ता, पदाधिकारी समिति सदस्य छाँया शर्मा र नवनियुक्त महानिर्देशक डा.घनश्याम ओझा लगायतको सहभागिता रहेको थियो ।

चेम्बरका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघको स्वागत

नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई २०८१ जेठ २ गते बुधबार आफ्नै कार्यालयमा बधाइ ज्ञापन सहित स्वागत गरेको जनाएको छ ।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगतदेखि नै आर्थिक संमृद्धिका विषयमा नेपालका निजी क्षेत्रका संस्थाहरु बीच सहकार्य हुँदै आएको सन्दर्भ उल्लेख गर्दै बर्तमान आर्थिक शिथिलताको अन्त्य गर्नका लागि आगामी दिनमा समेत गहन सहकार्यको आवश्यकता रहेको बताउनुभयो । नेपालको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले तत्काल समस्या समाधानका लागि पहल शुरू नगर्ने हो भने समग्र अर्थतन्त्र थप जटिलतामा फस्ने बताउँदै उहाँले निकासका लागि सरकार र समग्र निजी क्षेत्र एक भएर अगाडि बढ्नु पर्नेमा ज‍ोड दिनुभयो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले सहकार्यका लागि नेपाल उद्योग परिसंघको निमन्त्रणा सार्थक रहेको धारणा व्यक्त गर्दै नेपालका निजी क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताउनुभयो । आर्थिक मुद्दामा चेम्बर र परिसंघले सदैव सहकार्य गर्दै आएको विषय दोहोर्‍याउँदै उहाँले बर्तमान परिस्थितिमा यस्तो सहकार्य थप मजबुत हुनु पर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले उठाउने गरेका विषयहरूमा सरकारले प्रतिवद्धता जनाउने गरेको भएतापनि यस्ता विषयहरूलाई प्राथमिकतामा राखी कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिनुभयो । यी विषयहरू कार्यान्वयनमा लैजान निजी क्षेत्र एक भएर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । उक्त अवसरमा नेपाल उद्य‍ोग परिसंघका पूर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्षहरू राजबहादुर शाह, रोहित गुप्ता तथा पदाधिकारी समितिका सदस्य छाँया शर्मा र नेपाल उद्योग परिसंघका महानिर्देशक डा.घनश्याम ओझा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *