भक्तपुर/ भक्तपुर नगरपालिका वडा नं.२, इताछेँमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा २०७८ असोज २३ गते सम्पन्न भयो । सो संस्थाका अध्यक्ष राजन जतीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मेयर प्रजापतीले भक्तपुरका सहकारीकर्मीहरुले ‘एक सहकारी-एक सम्पदा सरसफाई’ अभियान मार्फत भक्तपुरका सांस्कृतिक सम्पदाहरुको सरसफाईमा महत्वपूर्ण योगदान गरिरहेको चर्चा गर्दै ख्वप अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गर्न भक्तपुर नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संघ/संस्थाहरुबाट उल्लेख्य सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सहकारीले युवाहरुलाई आत्मनिर्भर बनाउने गरी युवा लक्षित कार्यक्रम अगाडि बढाउनु पर्ने खाँचो औंल्याउनुभयो । यसैगरी उहाँले नगरबासीहरुलाई समयमा कर तिर्न र नक्सा तथा नगरपालिकाले जारी गरेको मापदण्ड बमोजिम घर निर्माण गर्न आग्रह गर्नुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर नगरपालिका वडा नंं.२ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।
यसैगरी सोही साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक चण्डिका छुंका , सोही संस्थाका संस्थापक अध्यक्ष श्याम सुन्दर मार्ता , पूर्व अध्यक्ष रबिन्द्र खर्बुजा, सञ्चालक राजु छूकां र प्रबन्धक प्रशान्त मानन्धरले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै सो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उक्त साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष राजन जतीले त्यस संस्थाको गतिविधिको बारेमा प्रकाश पार्दै आफ्ना शेयर सदस्यहरुलाई व्यवसायिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउँदै संस्था अगाडि बढिरहेको हाम्रो यस संस्थाले संख्यात्मक भन्दा गुणात्मक सेवा प्रवाहमा जोड दिइरहेको बताउनुभयो ।
सोही संस्थाका उपाध्यक्ष प्रनेश बाटीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त साधारण सभामा सोही संस्थाका सचिव कृष्णबम तर्कुबञ्जारले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।
साधारण सभामा मेयर प्रजापतीले उक्त संस्थाका ५० जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान-पत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।