लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको धां बाजा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम २०८१ भाद्र १५ गते शनिबार भक्तपुर नगरपालिकाकी उप-प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि जोशीले भक्तपुर नगरको विकासमा पूर्खाको योगदानलाई विर्सन नहुने भन्दै पूर्खाले सिर्जेको कला र सम्पदाहरुको महत्वबारे चर्चा गर्नुभयो । उहाँले भक्तपुर नगर एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको नगरका रुपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मूर्तअमूर्त सम्पदा तथा मातृभाषालाई जगेर्ना गर्दै पुस्तान्तरण गर्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । भक्तपुर नगरपालिकाले सांस्कृतिक क्षेत्रको उत्थानका लागि विभिन्न तालिम र प्रतियोगिताहरु सञ्चालन गर्दै आएकोले गर्दा नगरलाई जीवन्त बनाउन मद्दत मिलेको उहाँले बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले समुदायमा रहेका मानिसहरुको जीवनस्तरलाई उत्थान गर्नका लागि विभिन्न तालिम, शैक्षिक ऋण, उद्यमशीलता ऋण, खेलकुद गतिविधि, पर्यटकीय गतिविधि लगायत विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । उहाँले लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट सांस्कृतिक बाजागाजाहरु नया पुस्तालाई सिकाउदै आएकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थाहरुबाट यस्ता गतिविधिकहरु मार्फत भक्तपुर नगरपालिकालाई निरन्तर साथ र सहयोगको अपेक्षा रहेको समेत बताउनुभयो ।
भक्तपुर नगरपालिकाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले यो संस्थाबाट सामाजिक क्रियाकलाप अन्तर्गत सांस्कृतिक क्षेत्रको सम्बर्द्धनका अलावा नयाँ पुस्ता तयार गर्न टेवा पु-याएकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । नयाँ पुस्ताले इतिहासका विभिन्न घटनाक्रमहरुको बारेमा थाहा पाउनु पर्ने बताउदै भक्तपुर नगर विकासको लागि पर्यटन शुल्क २०५० सालदेखि शुरु गरेको स्मरण गर्नुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्न विभिन्न समयमा राज्यस्तरबाटै रचिएका षड्यन्त्रले राज्यको व्यबस्था नै परिवर्तन भएको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टी नेतृत्वको भक्तपुर नगरपालिकाले पिछडिएका जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, व्यवस्थित बस्तीको आवास योजना, सांस्कृतिक एवम् खेलकूद लगायत विभिन्न क्षेत्रलाई महत्व दिई विकास निर्माणका कार्यहरु गर्दै आएको बताउनुभयो ।
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले उक्त कार्यक्रमको अध्यक्षता गर्दै नया पुस्तालाई पुराना कला संस्कृतिको जगेर्ना गर्न सक्षम बनाउन यस संस्थाले आर्थिक कारोबारकासाथै विभिन्न सांस्कृतिक एबं सामाजिक क्रियाकलापमा पनि अग्रसर रहेको बताउनुभयो । उहाँले नगरपालिकाले समुदायमा आधारित सहकारीहरुलाई आवश्यक सहयोग गर्न र विशिष्टिकृत सहकारी बनाउन आवश्यक पहल कदम लिन सुझाब दिनुभयो । धा बाजा प्रशिक्षणका २५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रममा सो संस्थाको सांस्कृतिक उपसमितिका संयोजक कमलश्वरी सुवाल र सचिव राजु छुकांले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम झलक :












