भक्तपुर/ भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा आधारभूत नृत्य प्रशिक्षण तथा साहित्य लेखन तालिम गत शुक्रबार एक समारोहबीच सम्पन्न भयो । सो तालिमको समापन कार्यक्रमका प्रमुख आतिथि साविक भक्तपुर नगरपालिका वडा नं. १५ का भूतपूर्व वडा अध्यक्ष रबिन्द्र खर्वुजाले यस संस्थाबाट पहिलेदेखि नै सांस्कृतिक तथा साहित्यिक विषय बस्तु सम्बन्धी कार्यक्रमहरु गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले ‘नेपाल मै पहिलो पटक भक्तपुरबाट श्रीमान-श्रीमतीको जोडी सहित महिला नृत्य प्रस्तुत भएको इतिहासलाई केलाउदै आगामी दिनहरुमा पनि यो संस्थाबाट यस्ता विभिन्न कार्यक्रम सञ्चालन हुने अपेक्षा गर्दछु’, भन्नुभयो । त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष राजन जतिले हाम्रो यो संस्थाबाट आर्थिक कारोबारका अलावा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन हुदै आएको जानकारी दिदै यस संस्थाका सदस्यहरुले यस्ता कार्यक्रमहरुबाट प्रत्यक्ष रुपमा लाभ लिदै आएको र यसबाट संस्था तथा सदस्यहरु बीच अन्तर सम्बन्ध कायम भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिका वडा नं. २ का जननिर्वाचित वडा सदस्य श्याम सुन्दर मातांले साहित्य एक राजनीतिक हतियार भएकोले अहिलेको राजनीतिक अवस्था सुधारका लागि साहित्य लेखनको माध्यमबाट आवाज उठाउन सकिने विचार व्यक्त गर्नुभयो । उहाँले अहिलेका नयाँ पुष्टाहरुले नाटक, कथा तथा कविता रचना गरी जनपक्षीय साहित्य लेखन गर्दै समाजको साहित्यिक रुपान्तरणमा टेवा पु-याउनु पर्ने खाँचो औंल्याउनुभयो । उक्त तालिमका प्रशिक्षक हरिसुन्दर छुकांले साहित्य लेखनको महत्वबारे प्रकाश पार्दै समुदायमा आधारित सहकारीले यस्ता तालिमहरुको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा प्रशिक्षार्थी महिलाहरुबाट नृत्य प्रस्तुत गर्नु भएको थियो भने साहित्य लेखनका प्रशिक्षार्थीहरुबाट आ-आफ्नो सृर्जनात्मक साहित्य वाचन भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता त्यसै संस्थाका सञ्चालक सदस्य एवं सांस्कृतिक उप-समितिका संयोजक कमलश्वरी सुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो व्यबस्थापक प्रशान्त मानन्धर र समाजसेवी लक्ष्मीदेवी खर्बुजाले पनि आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।
लोकेश्वर साकोसमा निःशुल्क आखा तथा दन्त शिविर सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उप-समितिको आयोजनामा शनिबार एक दिवसीय निःशुल्क आखा तथा दन्त शिविर सम्पन्न भयो । उक्त शिविरको औपचारिक कार्यक्रममा बोल्दै अतिथि श्याम सुन्दर मांताले समुदायमा आधारित संस्थाहरुले समाजलाई हित हुने स्वास्थ्य क्षेत्र सम्बन्धी कार्यक्रम निरन्तर रुपमा गर्दै जानुपर्ने आवशयकणा औंल्याउदै सबैलाई स्वास्थ्य लाभको लागि शुभकामना दिनुभयो । उक्त संस्थाका सचिव कृष्णराम तुकंबञ्जारले समुदायमा आधारित सहकारीको अपरिहार्यतालाई जोड दिदै हाम्रो यो संस्थाले सामाजिक उत्तरदायित्वको रुपमा संस्थाले सामाजिक, सांस्कृतिक, स्वास्थ्य तथा सरसफाई जस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको बताउनुभयो । सोही अवसरमा प्राविधिक धीरज अधिकारीले भक्तपुरमा नियमित जस्तो हुने यस्ता शिविरले जनतामा स्वास्थ्य सजगता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै अहिले पनि कोरोना महामारीको जोखिम रहेकोले सबैमा सजगता अपनाउन अनुरोध गर्नुभयो । सामुदायिक आखा केन्द्र र ख्वप अस्पताल, च्याम्हासिंह भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा १३९ जनाको आँखा तथा ७७ जनाको दन्त परीक्षण गरिएको थियो भने ४ देखि ९९ बर्षकाले स्वास्थ्य लाभ लिनु भएको थियो । उक्त शिविरमा त्यसै संस्थाका स्वास्थ्य उप-समितिका सदस्यहरु रीता तुकंबञ्जार र प्रज्वल खत्रीले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।