भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप-समितिको आयोजनामा एक हप्ते समाचार लेखन तालिम सञ्चालन भइरहेको छ । २०८१ श्रावण १३ गतेबाट शुरु भएको सो तालिमको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजन जतिले हाम्रो यस संस्थाबाट स्थापनाकालदेखि नै समुदायमा आधारित रहेर आर्थिक कारोबारका साथसाथै सदस्यहरुको चौतर्फी विकास एवं व्यक्तित्व विकाश हुने किसिमका विभिन्न कार्यक्रम र तालिमहरुको सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले अहिलेको सहकारी संस्थाहरुको अवस्थालाई औल्यांउदै सदस्यहरुलाई ब्याजको लोभमा जथाभावी सहकारीहरुमा बचत जम्मा गर्न नहुने र सहकारी संस्था चिनेर मात्र कारोबार गर्न अनुरोध गर्नुभयो । सदस्यहरुको सेवा र सुविधालाई मध्यनजर गरी सहकारीले समय अनुसार विभिन्न सुविधाहरु थप गर्दै अतिरिक्त कार्यहरु गर्दै आएको भन्दै उहाँले यस तालिममा सहभागी प्रशिक्षार्थी सदस्यहरुले सजिलैसँग समाचार लेख्ने सीपको विकास गर्ने विश्वास गर्नुभयो । त्यसै तालिमका प्रशिक्षक कृष्णराम किसीले सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै हामी आफूले गरेको कुनै कार्य र घटनाक्रमहरुलाई अभिलेखका रुपमा लेखीराख्न सकेमा मात्र पछिसम्म उक्त कार्य सम्बन्धी जानकारी दिन सकिने भन्दै समाचार लेखन तालिमको महत्व सम्बन्धी चर्चा गर्नुभयो ।
उक्त संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा तथा बचत उप-समितिका संयोजक कृष्णराम तुकंबञ्जारको अध्यक्षतामा भएको सो कार्यक्रममा सोही उप-समितिका सदस्य सूर्यनारायण फांजुले २०८१ श्रावण १९ गते समापन हुने यो तालिममा १३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका बताउनुभयो ।


