नेपाली कांग्रेस र नागरिक उन्नुक्ति पार्टीको रेशम पक्षका ५ जना प्रदेश सभा सदस्यको बहिस्कारका बीच नेकपा (एस)का नेता समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज सुदूरपश्चिम प्रदेश सभाबाट बिश्वासको मत लिनुभएको छ । मुख्यमन्त्री सोडारीले २८ मत पाएको सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशको आजको बैठकमा विश्वासको मत परिणाम घोषणा गर्दै बताउनुभयो । मुख्यमन्त्री सोडारीको पक्षमा सुदूरपश्चिम प्रदेश सभामा रहेका नेकपा (एमाले)का ११ , नेकपा (माके)का १०, नेकपा (एस)का ४, नाउपाका २ र १ स्वतन्त्र सभा सदस्यको मतदान गरेको तर विपक्षमा भने १ मत पनि नपरेको सभामुख भण्डारीको भनाइ थियो । सुदूरपश्चिम प्रदेश सभामा १ सदस्य रहेको राप्रपाले उक्त मतदानमा भाग लिएन ।
नेपाली कांग्रेस र नाउपाको रेशम पक्षमा ५ जना प्रदेश सभा सदस्यहरुको विरोध र नाराबाजीका बीच सभामुख भण्डारीले विश्वासको मतदानको प्रक्रिया अगाडि बढाएपछि उनीहरुले नाराबाजी छाडेर मतदान बहिस्कार गरेको जनाइएको ।
यो बैठकमा नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु सत्ता पक्ष र प्रतिपक्षमा देखिनुले सो पार्टी भित्र विवाद यथावत रहेको स्पष्ट भएको छ ।