वीपी कोइरालाको ४२औं स्मृति दिवस

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस , वीपी कांग्रेस लगायतले विभिन्न कार्यक्रम गरेर वीपी कोइरालाको नेपाली राजनीति , समाज र साहित्यमा पु-याएको योगदानको स्मरण गरिरहेका छन । उहाँको योगदानको प्रजातान्त्रिक धारका साथै वामपन्थीहरु लगायतले पनि सम्झना गरिरहेका छन् । आफू राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ भन्ने वीपी कोइरालाको राजनीतिकर्मीका साथै साहित्यकार तथा साहित्यप्रेमीहरुले पनि राजनीति र साहित्यमा पु-याएको योगदान स्मरण गररहेका छन् ।

वि.सं.१९७१ भदौं २४ गते जन्मेका वीपी कोइराला बाबू कृष्णप्रसाद कोइरालाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेको देखिन्छ । वी.ए. र बी.एल.सम्म अध्ययन गरेका उनी शुरुमा मार्क्सवादी भएपनि भारतमा अंग्रेज विरोधी आन्दोलनमा लाग्दा जेल परेर माहात्मा गान्धी , जयप्रकाश नारायनन् , राम मनोहर लोहिया लगायतसँग सम्पर्कमा पुगेपछि समाजवादी बनेको बताइन्छ । अखिल नेपाल भारतीय राष्ट्रिय कांग्रेस हुँदै नेपाली काग्रेस निर्माण र राणा विरोधी आन्दोलनमा महत्वपूर्ण योगदान गरेका वीपी कोइराला वि.सं.२००७ सालको परिवर्तनपछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा, कांग्रेस र राजाका प्रतिनिधि सम्मिलित सरकारमा गृह मन्त्री बनेका थिए । राजनीतिक उतारचडावपछि वि.सं.२०१५ सालमा सम्पन्न संसदीय निर्वाचनबाट बनेको दुई तिहाई बहुमतको नेपाली कांग्रेसको सरकारको नेतृत्व गरेर नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए वीपी कोइरालाले । साँढे दुई वर्षको आफ्नो प्रधानमन्त्रीत्वकालमा वीपी कोइरालाले विर्ता उन्मुलन गर्ने जस्ता कार्य गरे भने नेपाल र चीन बीचको सीमा विवाद समाधान गरि सगरमाथाको चुचुरो नेपालपट्टी पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहासका जानकारहरु बताउछन । भारतसँग गण्डक सम्झौता गरेर नेपालको राष्ट्रिय हित विपरित कार्य गरेको दोष खेपेका प्रधानमन्त्री वीपी कोइराला नेतृत्वको सरकारलाई तत्का्लीन राजा महेन्द्रले २०१७ पुस १ गते अपदस्त गरेर निरङ्कुस पञ्चायती व्यवस्था अगाडि बढाएका थिए । मुलत: वीपी कोइरालाको चिनियाँ सरकारसँग निकट सम्बन्ध बनेकाले त्यसबाट असन्तुष्ट बनेका भारतीय प्रधानमन्त्री पं.जहरलाल नेहरूको सहयोगमा त्यसबेलाका राजा महेन्द्र शाहले वीपी कोइराला नेतृत्वको सरकार अपदस्त गरेको कतिपय इतिहासका जानकारहरुको भनाइ छ । स्वयं वीपी कोइरालाले पनि तत्कालीन चिनियाँ प्रधानमन्त्री चाओ आफूलाई मन पर्ने बताएका थिए ।

आफ्नो सरकार अपदस्त भएपछि वि.सं.२०१७ देखि ८ वर्ष गण्शमान सिंह, कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचन सहितका सहकर्मीहरुसँग काठमाडौंको सुन्दरीजल जेलमा बन्दी जीवन बिताएका वीपी कोइराला जेलबाट छुटेपछि सहकर्मी गण्शमान सिंहसँगै भारत प्रवासमा गएका थिए तर भारतीय सरकारको कतिपय स्वार्थ स्वीकार नगर्दा भारतीय सरकारबाट लखेटिएपछि वि.सं.२०३३ साल पुस १७ गते राजाको गलामाथि आफ्नो गला जोडिएको छ भन्दै वीपी कोइराला स्वदेश फर्किए । त्यसपछि पञ्चायती सरकारको कहिले नजरबन्द त कहिले धरपकड सहदै प्रजातन्त्रको लडाई लड्दै गए र अन्तत:२०३९ साल साउन ६ गते प्रजातन्त्रसँगै अर्बुद रोगसँग लड्दालड्दै उनी सदाका लागि अस्ताए ।

साहित्यमा विश्वेश्वरप्रसाद कोइराला

राजनीतिमा वीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामले परिचित छन् वीपी कोइराला । कविता, कथा , उपन्यास, आत्मकथा जस्ता नेपाली साहित्यमा कलम चलाएका उनका साहित्यिक कृतिहरुमा एण्टोन चेकवका लेख रचनाको प्रभाव रहेको जानकारहरु बताउछन् । हिन्दी भाषामा पनि कथा कविता लेखेका कोइराला चन्द्रवदन कथा लेखेर नेपाली साहित्य सृजनामा लागेको देखिन्छ । उनले चन्द्रवदन कथा मार्फत नेपाली साहित्यमा मनोविज्ञान प्रवेश गराए । उनका फुटकर कथादेखि दोषी चस्मा र स्वेतभ‌रवी गरि २ वटा कथासंग्रह, तीनघुम्ती, नरेन्द्रदाइ , मोदीआइन, सुम्निमा, हपट्लर र यहुदी र बाबू,आमा र छोरा गरि ६ वटा उपन्यास, आफ्नो कथा, आत्मवृतान्त, जेल जर्नल जस्ता कृतिहरु प्रकाशित छन् । कतिपय साहित्यकारले वीपी कोइराला राजनीतिमा १००/२०० वर्ष बाच्लान् तर साहित्यमा भने १००० वर्ष बाच्छन् भनेको सुनिन्छ । खैर, ३ छोरा र १ छोरी गरि ४ सन्तानका पिता वीपी कोइरालाको नेपाली र राजनीतिसँगै नेपाली साहित्यमा उल्लेखनीय योगदान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *