
हेटौंडा/ हेटौंडा उप-महानगरपालिका-११, नवलपुरमा रहेको श्री बागेशवरी महिला बचत तथा ऋण सहकारी संस्था लि.को १३औंं वार्षिक साधारण सभा समापन कार्यक्रम गरी आज सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष आशाकुमारी अधिकारीको अध्यक्षता तथा नेफ्स्कूनकी सञ्चालक तथा मकवानपुर फिल्ड उप-समितिका संयोजक बिद्या कोइरालाको प्रमुख अतिथ्यतामा सो समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले स्थापना भएको छोटो समयमा नै श्री बागेश्वरी महिला साकोसले गरेको प्रगति देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । नेफ्स्कून आफ्ना सदस्य संघ/संस्थाहरुको गुणात्मक विकासका लागि लागिरहेको प्रसंङ्ग उल्लेख गर्दै उहाँले सहकारी संस्थाले नीति, विधि र प्रविधिलाई राम्रो सँग आत्मसाथ गरी आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । यही कार्तिक ६ गतेदेखि सञ्चालन भएको उक्त साधारण सभाको त्यस समापन कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि का सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, हेटौंडा उप-महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जुना दाहाल, नवयुवा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हिम प्रसाद पौडेल, उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश विडारी, नेपाल रेडक्रस सोसाइटी, हेटौंडा- ११ का अध्यक्ष सुमित्रा काफ्ले , टोल विकास समन्वय समितिका वडा नं. ११ का अध्यक्ष देवकुमार श्रेष्ठ र,इपिङ इन्जिनियरिङ कन्सलटेन्सीका इञ्जिनियर सचित श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । सोही संस्थाका सल्लाहकार सीताराम बर्तौलाले मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रमको अध्यक्षता गर्दै त्यसै संस्थाकी अध्यक्ष अधिकारीले उक्त संस्थाले समग्र अवस्था र चालु आर्थिक वर्षको कार्य योजनाको बारेमा प्रकाश पार्नु हुदै यस संस्थाको शेयर पूँजी रु.२ करोड ६ लाख ४५ हजार ९ सय , निक्षेप संकलन रु.१५ करोड ४७ लाख ९५ हजार १ सय २ र कर्जा लगानी रु.१४ करोड ६६ लाख १७ हजार १ सय ९९ रहेको जानकारी दिनुभयो । कार्यक्रममा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समितिकी संयोजक सीता सापकोटाले हाम्रो यो संस्थाले आफ्ना शेयर सदस्य महानुभावहरुको साथ र सहयोगले गर्दा निरन्तर प्रगति गर्दे अगाडि बढ्न सफल भएको बताउनुभयो ।