काठमाडौं/स्थानीय तहको निर्वाचन नजिकिदै जादा काठमाडौं उपत्यकाका स्थानीय तहहरुका उम्मेद्वारहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेका छन् तर उनीहरुले फोहोर व्यवस्थापनको दिगो समाधान यसरी गर्ने भनेर मतदाता समक्ष चित्त बुझ्दो जवाफ भने दिन नसकेको कतिपय मतदाहरुको भनाई छ ।
काठमाडौं उपत्यका भित्रको फोहोरको दिगो व्यवस्थापन चुनौती बन्दै गएको छ । काठमाडौंको टेकु, गोर्कर्ण , सुन्दरीघाट हुदै पछिल्लो पटक नुवाकोटको सिस्डोल डम्पिङ साइडमा फोहोर फाल्न थालिएको छ तर स्थानीयबासीहरुको पासाङ ल्हामु मार्गको सिस्डोल ल्याण्डफिल्डसम्म पुग्ने बाटो कालोपत्रे गर्नु पर्ने माग पूरा हुन नसक्ता काठमाडौ उपत्यकाका सडक दीर्घकालीन रुपमा फोहोर थुप्रिने समस्याबाट मुक्त हुन सकेका छैनन । बाटो कालोपत्रे गर्नु पर्ने माग गरी सिसडोल आसपासका स्थानीयबासीहरुको अवरोधका कारण यस पटक पनि दुई हप्तादेखि काठमाडौंका सडकमा फोहोर थुप्रियो तर स्थानीयबासीहरुको सो बाटो पिच गर्नु पर्ने मागको भने कहीकतैबाट पनि सुनुवाई भएको देखिएन । शनिबारदेखि काठमाडौं महानगरपालिका सहितका स्थानीय तहले उठाएको फोहोर सुरक्षाकर्मीको सहयोगमा सिस्डोल ल्याण्ड फिल्डमा फोहोर फाल्ने क्रम चलेको छ । उक्त ल्याण्डफिल्डमा काठमाडौ र ललितपुर महानगरपालिका सहित १८ वटा स्थानीय तहको फोहोर फालिदै आएको छ ।
सरोकारवालाहरुले भने सिस्डोल आसपासका स्थानीयबासीको पासाङ ल्हामु मार्गको सिस्डोल ल्याडफिल्डसम्म पुग्ने बाटो कालोपत्रे गर्नु पर्ने माग काठमाडौं महानगरपालिका सहितका स्थानीय तहले पुरा गर्नुपर्छ तर सो ल्याडफिल्डको आसपासको निश्चित स्थानसम्म बस्ती निर्माण गर्न भने प्रतिबन्ध लगाउनुपर्ने बताउछन् ।
काठमाडौं उपत्यकाको फोहोरलाई मोहोरमा परिणत गर्नु पर्ने आवाज सघन रुपमा उठिरहेको छ । कतिपय शक्तिशाली राजनीतिक दलका नेताहरुले त्यसमा एक्यबद्धता पनि जनाएका छन् तर त्यसलाई मूर्त रुप दिन भने उनीहरु अगाडि बढेको देखिदैन ।
यता कतिपय जानकारहरु भन्छन् – ‘काठमाडौं महानगरपालिका सहितका स्थानीय तहले सामूहिक रुपमा सड्ने र नसड्ने तथा पुन: प्रशोधन गर्न मिल्ने र नमिल्ने फोहोरलाई बर्गिकरण गर्ने र त्यसका लागि स्थानीय घरधनीको कसरी साथ र सहयोग लिने भन्ने जस्ता विषय समावेश गरी गुरुयोजना बनाएर त्यसलाई कार्यान्वयन गर्नु र तिनीहरुले सामुहिक लगानीमा मल कारखाना र उर्जा उत्पादन केन्द्र सञ्चालन गर्नु अपरिहार्य छ, जसले एकातिर फोहोर व्यवस्थापन हुने र अर्कोतिर कम्पोष्ट मल र उर्जाको समस्या न्युनिकरण हुन्छ ।’
काठमाडौंको फोहोरबाट पुन: प्रशोधन गर्ने मिल्ने कवाडी बस्तु जम्मा गरी त्यसलाई कवाडीमा लगी विक्री गरेर जीविकोपार्जन गर्ने नेपाली र भारतीय नागरिकहरुको संख्या निकै ठुलो रहेको छ । परिवारमा अभिभावकविहीन बनेका र अभिभावकको केयर र माया नपाएका वालवालिकाको जीविकोपार्जनको आधार पनि यही रहेको देखिएको छ ।