निर्वाचन आयोगको मतदाता परिचय-पत्र बिना पनि मतदान गर्न दिने निर्णय

काठमाडौं/ आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचय-पत्र बिना पनि मतदातालाई मतदान गर्न दिने निर्णय गरेको जनाएको छ । आज सो आयोगले प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई पठाएको पत्रमा निर्वाचन आयोगबाट जारी भएको अन्तिम नामावलीमा नाम भएका मतदातालाई निर्वाचन आयोगबाट जारी मतदाता परिचय-पत्र वा नेपाली नागरिकताको प्रमाण-पत्र वा राष्ट्रिय परिचय-पत्र वा राहादानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई एकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन गरेको उल्लेख छ ।

यता विगतका निर्वाचनहरुमा झैं निर्वाचन आयोगले आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यस पटक मतदाताहरु माझ प्रत्यक्ष रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेको र उम्मेद्वार मनोनयन अगाडि नै प्रकाशन भएको मतपत्रमा विभिन्न स्थानीय तहमा उम्मेद्वार नै नभएका दलका चुनाव चिन्ह पनि समावेश भएकाले यो पटकको स्थानीय तहको चुनावमा मत बदरको संख्या बढ्न सक्ने खतरा रहेको कतिपय जानकारहरुको भनाई छ । निर्वाचन आयोगले प्रविधि र सञ्चार माध्यम उपयोग गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेपनि सञ्चार माध्यमको पहुँच बाहिर रहेका दुर्गम र दुरदराजका स्थानका कतिपय मतदाताहरुले आफूलाई मतदान गर्न बारेमा कसैले नसिकाएकोले भोट दिन समस्या भएको बताइरहेका छन् ।

Leave a Reply