काठमाडौं/बिभिन्न कारणले शहरमा रहेका व्यक्तिहरुले आफ्ना परिवारसँगै बसेर बडादशैं मनाउन गाउँमा रहेको आफ्नो घरमा फर्किनेहरु मध्ये अधिकांशले सास्ती बेहोरिरहेका छन् । एकातिर महङ्गो भाडा , अर्कातिर भने जस्तो सुविधा भएका पर्याप्त सवारी साधन नहुनु जस्ता कारणले यात्रीहरु पीडित छन् । गाउँ फर्किनेहरुको तुलनामा सवारी साधन अति थोरै हुनुले पनि यात्रीहरु सवारी साधनमा कोच्चिएर जनावर जसरी यात्रा गर्न विवश छन् । त्यही कारणले मुगु र कास्कीमा भएका सवारी साधनको दुर्घटना र तिनमा परी ३ दर्जन भन्दा बढीले ज्यान गुमाउने र घाइते हुने अवस्था बन्नु त्यसैको पछिल्लो उदाहरण हो । ट्राफिक प्रहरी खचाखच भरिएका सवारी साधनमा नचढ्नु भनेर यात्रीहरुलाई उर्दी जारी गरिरहेको छ तर यात्रीहरु भने सवारी साधनको अभावले जसरी भएपनि यात्रा गर्नै पर्नै बाध्यतामा छन् । सरकारको यस विषयमा ध्यान पुगेको देखिँदैन ।