अविरल वर्षातका कारण बाढी र पहिरोबाट संखुवासभामा २० जना अझै बेपत्ता छन् भने ११ वटा घर पूर्ण रुपमा र ६ वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जसमा चैनपुर नगरपालिकामा ८, मकालु गाउँपालिकामा १, सभापोखरी गाउँपालिकामा ४ र पाँचखपन नगरपालिकामा ४ घर क्षतिग्रस्त भएको र क्षतिग्रस्त घरका परिवार आफन्त र छरछिमेकीको घरमा आश्रय लिएका छन् । उनीहरु सहित बाढी पहिरोबाट पीडित सबैको उचित व्यवस्गापन गर्न राजनीतिक दलहरु तथा नागरिकहरुले सरकारलाई अनुरोध गरेका छन् ।
यस्तै गत शनिबार राती अविरल वर्षातका कारण चैनपुर नगरपालिका-४ र पाँचखपन नगरपालिका-४ मा पहिरो खसेर थुनिएर जलमग्न भएको हेवाखला फुटेर आएको बाढीले बगाउदा १ जनाको ज्यान गएको थियो भने चैनपुर नगरपालिका-४ मा निर्माणाधिन सुपर हेवाखोला हाइड्रोपावरमा कार्यरत १६ जना र अपर हेवाखोला हाइड्रोपावरमा कार्यरत १ जना बेपत्ता छन् । त्यसैगरी प्राकृतिक प्रकोपकै कारण सभापोखरी गाउँपालिकाका २ जना र अमर कण्ट्रक्सनमा कार्यरत १ जना पनि बेपत्ता भएको जनाइएको छ । सोही बाढीकै कारण घाइते भएका सुपर हेवाखोला हाइड्रोपावरमा कार्यरत ३ जनालाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर लगिएको थियो । वेपत्ता भएकाहरुको खोजी भइरहेको सुरक्षाकर्मीहरुको भनाइ छ ।
वर्षातका कारण आएको संखुवासभामा बाढीले २ वटा पक्की पुल बगाएको र एउटा पक्की पुलमा क्षति पु-याउनुका साथै ८ वटा हाइड्रोपावर सहित ठूलो परिमाणका भौतिक संरचनामा क्षति पु-याएको छ ।
संखुवासभामा गएको बाढी र पहिरोले पु-याएको क्षतिको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शोमबार निरीक्षण गरी उद्धार र राहतका कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्भित सरकारी कार्यालयलाई निर्देशन दिनुभएको थियो । त्यस अवसरमा उहाँले बाढीले बगाएर निधन भएका स्थानीयबासीप्रति श्रद्धाञ्जली प्रकट गरि शोकासन्तप्त परिवारमा समवेदना व्यक्त गर्नु भएको थियो ।
मकालुमा पहिरो खस्ता खाँदबारी- किमाथान्का सडक अवरुद्ध
अविरल वर्षातका कारण मकालु गाउँपालिका वडा नं.३ र ५ मा खसेको पहिरले संखुवासभा सदरमुकाम खाँदबारी- किमाथान्का सडक अवरुदध भएको र जसका कारण मकालु गाउँपालिका र भोटखोला गाउँपालिका बीच यातायात सम्पर्क बिच्छेद भएको बताइएको छ । सोही पहिरोका कारण सडक अवरुद्ध हुदा यातायातका साधनहरु बीच बाटोमै अलपत्र परेको प्रत्पक्षदर्शीको भनाइ छ । सो पहिरो पन्छाएर यातायातका साधन चल्ने वातावरण बनाउन प्रयास भइरहेको छ तर पहिरो खस्नेे क्रम नरोकिएकाले काम गर्न कठिनाई भइरहेको कोशी सडक कार्यालयले जनाएको छ ।