काठमाडौं / ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी १० स्थानीय तह रहेको संखुवासभा जिल्लाका यही बैशाख ३० गते सम्पन्न सबै स्थानीय तह निर्वाचनको मतगणना कार्य आज दिउसो चैनपुर नगरपालिकाको मतगणना सकिएसँगै सम्पन्न भएको छ । आज दिउसो मतगणना भएका सो नगरपालिकाको वडा नं.६ मा नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेद्वार शिखर शर्माको नेतृत्वमा पुरै प्यानल र वडा नं.७ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार नगेन्द्र कार्कीको नेतृत्वमा नेपाली कांग्रेस ३ वडा सदस्य र नेकपा (माके)का १ वडा सदस्य गरी गठबन्धनको पुरै प्यानल विजयी भएको छ भने मेयर र उप-मेयरमा नेकपा (एमाले)का कृष्णकुमार तामाङ र एलिना श्रेष्ठ सत्ता गठबन्धनका उम्मेद्वार भन्दा फराकिलो मतान्तरले विजयी हुनुभयो । यो नगरपालिकाको वडा नं.१,२,३,४,५ र ६ मा नेकपा (एमाले) र वडा नं.७,८,९,१० र ११ मा गठबन्धनले जितेको छ । यस अगाडिको निर्वाचनमा उक्त नगरपालिकाको वडा नं.१ मा नेपाली कांग्रेसले पूरै प्यानल जितेको थियो भने मेयर र उप-मेयर सहित बाँकी सबै वडामा नेकपा (एमाले)ले जितेको थियो ।
यो निर्वाचनमा संखुवासभा जिल्लाका १० पालिकामध्ये नेकपा (एमाले)ले चैनपुर नगरपालिका र मादी नगरपालिकाको मेयर र उप-मेयर तथा भोटखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने धर्मदेवी नगरपालिकाको मेयर र खाँदबारी नगरपालिकाको उप-मेयर जितेको छ । त्यसैगरी नेपाली कांग्रेसले चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकाको मेयर र धर्मदेवी नगरपालिकाको उप-मेयरका साथै सभापोखरी गाउँपालिका र मकालु गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तैगरी नेकपा (एस)ले पाँचखपन नगरपालिकाको उप-मेयर र सभापोखरी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । त्यस्तै नेकपा (माके)ले मकालु गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
यस निर्वाचनमा नेपाली कांग्रेसले यस अगाडि आफूले जितेको पाँचखपन नगरपालिकाको मेयर, धर्मदेवी नगरपालिकाको उप-मेयर तथा चिचिला गाउँपालिकाका र सिलिचोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पुन:जिती यस अगाडिको निर्वाचनमा नेकपा (एमाले)ले जितेको खाँदबारी नगरपालिकाको मेयर , सभापोखरी गाउँपालिका र मकालु गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै नेकपा (एमाले)ले आफूले यस अगाडि जितेको चैनपुर नगरपालिका र मादी नगरपालिकाको मेयर र खाँदबारी नगरपालिकाको उप-मेयर पुन: जितेको छ भने यस अगाडिको चुनावमा नेपाली कांग्रेसले जितेको धर्मदेवी नगरपालिकाको मेयर तथा भोटखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । त्यसैगरी नेकपा (एस)ले यस अगाडि नेकपा (एमाले)ले जितेको पाँखपन नगरपालिकाको उप-मेयर र सभापोखरी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । यस्तै नेकपा (माके)ले यस अगाडि नेकपा (एमाले)ले जितेको मकालु गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
(कान्तिपुर दैनिकको सहयोगमा )