‘स्मृतिमा नरेन्द्र बस्नेत’ स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौं/ शनिबार काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा एक कार्यक्रमका बीच स्मृतिमा नरेन्द्र बस्नेत स्मृतिग्रन्थ लोकार्पण गरियो । नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयसम्म महत्वपूर्ण योगदान गर्नु भएका र जीवनको उत्तरार्धमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश समितिका अध्यक्षको जिम्मेवारीमा रहनु भएका नरेन्द्र बस्नेतले राजनीतिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदान लगायतका विषयबस्तु उक्त स्मृतिग्रन्थमा समावेश गरिएको छ ।

समाजको उन्नयनका लागि ठोस योगदान दिन सक्ने बहुप्रतिभाका धनी नरेन्द्र बस्नेतको गत बर्ष कोरोनाका कारण हुन गएको असामयिक निधनले भोजपुर मात्र नभइ देशलाई नै अपुरणीय क्षति पुगेको सो कार्यक्रमका सबै वक्ताहरुले बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले

क. नरेन्द्र बस्नेत नेपाली नयाँ जनवादी क्रान्ति प्रति प्रतिबद्ध अथक योद्धा भएको स्मरण गर्दै उहाँको निधनले नेपाल कम्युनिष्ट पार्टीलाई ठूलो क्षति भएको र नेपाली सर्वहारा वर्गले एक असल साथी गुमाउनु परेको विचार व्यक्त गर्नु भयो । प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष निनु चापागाईको अध्यक्षता र सामाजिक व्यक्तित्व रविन्द्र अधिकारीको सञ्चालनमा भएको सो कार्यक्रममा नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा (एस)का उपाध्यक्ष घनेन्द्र बस्नेत , जसपाका वरिष्ठ नेता अशोक राई, नेकपा (माके) का नेता गिरिराजमणि पोखरेल, नेकपा (एमाले)का नेता कृपासुर शेर्पा तथा दिवंगत नरेन्द्र बस्नेतकी श्रीमती बिष्णुकुमारी राई लगायतले नरेन्द्र बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनका साथै सामाजिक, सांस्कृतिक तथा शैक्षिक श्रेत्रमा पु-याएको योगदान माथि चर्चा गर्नु भयो । समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको त्यस कार्यक्रममा उहाँका सहोदर दाजु मुकुन्द बस्नेतले भाइ नरेन्द्रलाई एउटै परिवारमा रहेर पनि चिन्न जान्न नसकेको र आज प्रकाशित कृतिले घरको प्रतिभा चिन्नु पर्ने पीडाको उजागर गर्नु भयो ।

भोजपुरको दिङ्लामा रहेको अरुण मा.वि.का प्रधानाध्यापक समेत रहेर कार्य गरेका नरेन्द्र बस्नेतले राजनीतिका साथै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु-याउनु भएको जानकारहरुको बताउछन् ।

संसदमा स्मरण नभएका पूर्व सांसद नरेन्द्र बस्नेत

२०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट भोजपुर क्षेत्र नं.१ बाट निर्वाचित सांसद समेत रहेका नरेन्द्र बस्नेतको गत वर्ष कोरोनाबाट वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७२ वर्षको उमेरमा निधन भएको केही दिन पछि बसेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठकमा त्यसै बीचमा निधन भएका पूर्व सांसद तथा पूर्व मन्त्रीहरुको निधनप्रति सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव पारित गराई उहाँहरुप्रति श्रद्धाञ्जलिका लागि मौनधारण गराउनु भएको थियो तर त्यो सूचीमा केही दिन अगाडि मात्रै निधन भएका पूर्व सांसद नरेन्द्र बस्नेतको नाम भने उल्लेख गरिएन । उहाँको त्यो सूचीमा नाम नहुदा त्यस बारे त्यसबेला कसैले चासो गरेको पनि देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *