सरकार ,नेपाल उद्योग परिसंघ र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता,१,६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने

सरकार , नेपाल उद्योग परिसंघ र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेण्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको छ । आज भएको सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, नेपाल उद्योग परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित ६ उद्योगका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।
एप्रेण्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इण्डष्ट्रिज प्रा.लि., अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शुज म्यानुफ्याक्चर्स प्रा.लि., बाबा जुट मिल प्रा.लि., मोर्डन स्लीपर इण्डष्ट्रिज प्रा.लि., र रन शुज् इण्डष्ट्रिज प्रा.लि. रहेका छन् । सम्झौताअनुसार यी उद्योगहरुले कुल १,६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरुलाई प्रशिक्षण दिएर सोपश्चात् कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्नेछन् । प्रशिक्षार्थी कामदारहरुको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्नेछ।
सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, र विभिन्न उद्योगी र नेपाल सरकारका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा तथा विभागीय प्रमुखहरु, उद्योग मन्त्रालयकी पूर्वसचिव यामकुमारी खतिवडा, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता तथा सोही परिसंघको रोजगारदाता परिषदका सभापति ध्रुव रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवर्द्धन समितिका सह-सभापति तथा नेपाल तयारी पोशाक महासंघका अध्यक्ष पशुपतिदेव पाण्डे र विभिन्न उद्योगका प्रतिनिधिहरु समेतको उपस्थिति थियो ।
त्यस अवसरमा मन्त्री रिजालले उक्त कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा व्यक्त गर्नुभयो। साथै, कार्यक्रममा साझेदारी गर्ने सम्बद्ध सबै पक्षलाई धन्यवाद दिँदै उहाँले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्य‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भन्नुभयो, ‘चालु आर्थिक वर्षका लागि ८ वटा उद्योगले २,१०० प्रशिक्षार्थीका लागि नेपाल उद्योग परिसंघमार्फत आवेदन दिएका थिए तर पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ वटा उद्योगहरुसँग मात्र यस कार्यक्रमका त्रिपक्षीय सम्झौता हुन सक्यो। अन्य उद्योगहरु इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा १,६६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएकाले आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ। यसलाई सफल बनाउनका लागि नेपाल उद्योग परिसंघको भूमिका सदैव सकारत्मक रहने छ।‘
यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरुलाई समेट्नुपर्ने बताउनुभयो। ‘सीटीईभीटी (CTEVT) बाट मान्यता प्राप्त पाठ्यक्रम भएमा यस कार्यक्रमले अझ ठूलो उपलब्धि हासिल गर्नेछ,’ उहाँले भन्नुभयो।
उक्त अवसरमा नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत घिमिरेले दक्ष जनशक्ति विकस गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको यस कार्यक्रममा यस किसिमले सरोकारवाला पक्षहरुबीच त्रिपक्षीय सम्झौता हुनु ठूलो उपलब्धी भएकाले यसलाई थप सफल बनाउन सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *