काठमाडौँ महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघ कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा सेरामिक वस्तु विकास, डिजाइनिङ्ग, रंग समिश्रण तथा फिनिसिङ्ग, सम्बन्धी २१ दिने प्रशिक्षण समापन तथा हस्तकला प्रदर्शनी, काठमाडौँ महानगरपालिकी नगर उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा २०८२ जेठ १३ गते मंगलबार काठमाडौं महानगरपालिका-५, हाँडीगाउँ- गहना पोखरीमा सम्पन्न भयो ।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यको अध्यक्षमा भएको उक्त प्रशिक्षणमा संयोजक माणिकमान शाक्यले प्रशिक्षणको उद्देश्यबारे प्रकाश पार्नुभयो । यसैगरी नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति नवीन शाक्यले परिषद्को विविध क्रियाकलापबारे प्रकाश पार्नुभयो । सोही अवसरमा काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले सेरामिक क्षेत्रको विकास, बजार प्रवर्द्धन कालागि आउने दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि डंगोलले तालिमकाट सिकेको सीप व्यवहारमा उतार्न अनुरोध गर्दै सीपबाट आर्थिक उपार्जनमा सक्रिय रुपमा लाग्न अनुरोध गर्नुभयो । यस क्रममा उहाँले प्रशिक्षार्थीलाई प्रमाण-पत्र र प्रशिक्षकहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । साथै उहाँले व्यवसायलाई अझ प्रभावकारी सशक्त तुल्याउन प्रशिक्षार्थीहरूलाई माटो पेल्ने मेसिन हस्तान्तरण गर्नुभयो ।
त्यसै अवसरमा नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने प्रशिक्षक, प्रशिक्षार्थी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त प्रशिक्षणमा १७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
बाँसजन्य वस्तु उत्पादन तालिम
ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा नेपाल हस्तकला महासंघको उद्योग परिषद्को संयोजनमा १५ दिनको वाँसजन्य वस्तु उत्पादन सम्बन्धी तालिम महालक्ष्मी नगरपालिका वडा नं.९ ,लामाटार, ललितपुरमा २०८२ जेठ १३ गते मंगलबार सम्पन्न भएको छ । उक्त तालिमको समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरियो । ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाको प्रमुख आतिथ्य र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष, नेपाल महासंघ महासंघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्य समिति सदस्य र स्थानीय वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।





