१ नं. प्रदेश सभाको उप-सभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

१ नं. प्रदेश सभाको सभामुखमा नेकपा (माके)का बाबुराम गौतम निर्विरोध चयन भएपनि त्यस प्रदेश सभाको उप-सभामुखमा भने २ जनाको उम्मेद्वारी परेपछि आज चुनाव भयो । सो चुनावमा नेकपा (एमाले)की सिर्जना दनुवार प्रतिस्पर्धी नेपाली कांग्रेसकी लीलाकुमारी राईलाई पछि पारी विजयी हुनुभयो । विजयी दनुवारले ५७ र उहाँकी प्रतिस्पर्धी राईले ३३ मत पाउनुभयो । नेकपा (एमाले)की दनुवारलाई नेकपा (एमाले), नेकपा (माके), राप्रपा र जसपाका प्रदेश सभा सदस्यले मतदान गरे भने नेपाली कांग्रेसकी राईलाई नेपाली कांग्रेस र नेकपा (एस)का १ नं. प्रदेश सभा सदस्यले मतदान गरे । उक्त मतदान प्रक्रियामा नेकपा (एमाले)का प्रदेश सभा सदस्यद्वय मिना श्रेष्ठ र उमाकान्त गौतम अनुपस्थित रहेको जानकारी प्राप्त भएको छ । उप-सभामुखमा निर्वाचित ४६ बर्षीय दनुवार उदयपुरबाट नेकपा (एमाले)को समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

यस अगाडि १ नं. प्रदेश सभाको सभामुखमा नेकपा (एमाले)का प्रदीप भण्डारी र उप-सभामुखमा नेकपा (माके)की सरस्वती पोखरेल हुनुहुंन्थ्यो ।

१ नं. प्रदेश सभामा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माके)का १३ , नेकपा (एस)का ४, राप्रपाका ३ र जसपाका १ जना प्रदेश सभा सदस्य छन् ।

Leave a Reply