यही भदौ ७ गते ४ कम्युनिष्ट पार्टीले नेपाल बन्द गर्ने जनाएका छन् । शनिबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध कार्यक्रममा सो जानकारी दिइएको हो । उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रपतिले देश र जनताको रक्षा गर्ने कुरालाई पहिलो प्राथमिकतामा र त्यसपछि मात्रै संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । अध्यक्ष कट्टेलले अहिलेको नागरिकता संशोधन विधेयकले नेपालको राष्ट्रिय एकता कायम गर्न सक्ने अवस्था नरहेको र यसले देशमा गृह युद्धको अबस्था निर्माण हुन सक्ने भएकोले राष्ट्रपतिले यो विधेयक प्रमाणिकरण गर्न नहुने भन्दै
जनसांख्यिक हिसावले ठूला देशका बीचमा रहेको हाम्रो देशको नागरिकता जस्तो सम्बेदनशील विषयमा राष्ट्रिय सहमती कायम हुनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले एमसीसी र एसपीपी सम्झौता खारेज हुनु पर्ने बताउदै सरकार र विप्लव नेतृत्वको नेकपा बीच भएको सहमती सरकारले कार्यान्वयन नगर्नु र विप्लव सहितका नेता कार्यकर्ताहरुलाई वारेण्ट जारी गरेको भन्दै त्यसको विरोध गर्नुभयो । सोही अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य विषमले सरकारले ४ कम्युनिष्ट पार्टीले अघि सारेका माग पूरा नगरे कडा आन्दोलन गर्ने बताउनुभयो । उहाँले सरकार र नेकपा वीचको सहमती सरकारले पालना नगरी आफ्नो दलका नेता-कार्यकर्ताहरुमाथि दमन गरिए आफूहरुले शसक्त प्रतिवाद गर्ने चेतवनी दिनुभयो । उहाँले नेपालको राष्ट्रिय एकता र सार्वभौमिकता माथि कोही कसैलै गिद्धे नजर लगाए त्यसको डटेर प्रतिरोध गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशिल’ले नागरिकता विधेयकमा उल्लेख भएको विवाह गरेर आएको भोलिपल्टै विदेशी बुहारीलाई नेपाली नागरिकता प्रदान गर्ने नाग प्रावधान खारेज हुनुपर्ने बताउनुभयो । उहाँले महङ्गी , भ्रष्टाचार र घुसखोरीको विरुद्ध निरन्तर संघर्ष गर्ने बताउनुभयो । यसैगरी वैज्ञानिक कम्युनिष्ट पार्टी , नेपालका सचिवालय सदस्य राजेश्वरी सुवेदीले चीन घेर्ने उद्देश्यका साथ आएका एमसीसी र एसपीपी राष्ट्रघाती भएकोले खारेज हुनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा केन्द्रीय सामना परिवारका कलाकारहरले जनपक्षीय गीत तथा संगीतहरु प्रस्तुत गरेका थिए ।
शनिवार काठमाडौं उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा पनि ४ कम्युनिष्ट पार्टीले विरोध कार्यक्रम गरेको जानकारी प्राप्त भएको छ ।
दोश्रो चरणको संघर्ष अन्तर्गत विरोधका कार्यक्रम गरिरहेका ती दलहरुले ती कम्युनिष्ट पार्टीहरुले यही भदौ ६ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवासँग विप्लव र प्रकाण्डको भेट
शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको भेटघाट भएको जानकारी प्राप्त भएको छ । गृह मन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्डको उपस्थिति रहेको सो भेटमा यस अघि सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीच भएको ३ बुँदे सहमती लगायतका विषयमा छलफल भएको बतइएको छ ।