आफ्नो कार्यक्षेत्र भित्रका वडाहरुका जनप्रतिनिधिलाई भेटेर बधाई दिदै उपासना महिला साकोस

काठमाडौं/ काठमाडौंको सीतापाइलामा मुख्य कार्यालय तथा रामकोट र रानीवनमा संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र भित्रका सबै वडाका नव निर्वाचित जनप्रतिनिधिलाई भेटेर बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकाल सफलताको कामना गरिरहेको छ । सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको नेतृत्वमा गएको सो संस्थाको प्रतिनिधि मण्डलले वडाहरुका नव निर्वाचित जनप्रतिनिधिहरुलाई भेटेर बधाई ज्ञापन गर्दै उहाँहरुसँग सहकारीको थप विकास र प्रवर्द्धनका विषयमा अन्तर्कियात्मक छलफल गर्दै आएको र नवनिर्वाचित जनप्रतिनिधिहरुबाट पनि सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको सहकारीको प्रवर्द्धनमा आफ्नो साथ र सहयोग रहने छ भनी सकारात्मक जवाफ आएको बताइएको छ । आफ्नो कार्यक्षेत्र भित्र पर्ने काठमाडौंको नागार्जुन नगरपालिकाका १,२,३,५,६ ,७ र ८ नं. वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भेटेर बधाई ज्ञापन गरी सकिएको र सो नगरपालिकाका बाँकी ४,९ र १० नं. वडाका जनप्रतिनिधिहरुलाई पनि यही असार मसान्तसम्ममा सम्बन्धित वडा कार्यालयमा पुगेर प्रत्यक्ष भेटी बधाई दिने गरी कार्य भइरहेको उक्त संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले अलगपथलाई बताउनुभयो । यसको उद्देश्य चाहिँ के हो भनी अलगपथको जिज्ञासाको जवाफमा अध्यक्ष महर्जनले हाम्रो यो कार्यको उद्देश्य भनेको हरेक वडा कार्यालयले महिलालाई प्रदान गर्ने सेवा, सुबिधा तथा सामुदायिक कार्यक्रम सहकारी मार्फत गरियोस् र वडामा भएका सबै सहकारीको सञ्चालन अवस्था बारेमा सबै जनप्रतिनिहरुको ध्यानाकर्षण होस् , जसले सहकारी संघ/संस्थालाई थप सुशासनमा लान सकोस् भन्ने हो’, भन्नुभयो ।

आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले उनीहरुलाई उत्पादनमुलक कार्यमा लाग्न प्रेरित गर्ने तथा उत्पादनमूलक कार्यमा लागेकाहरुलाई सहयोग गर्दै अगाडि बढिरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा बिभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । स्थापना भएदेखि नै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उक्त संस्थाको सूचकाङ्कबाट देखिएको छ ‌। त्यस संस्थाको सीतापाइलास्थित मुख्य कार्यालयमा ४,२२०, रामकोट संकलन केन्द्रमा ४४२ र रानीवन संकलन केन्द्रमा ३६३ शेयर सदस्य , १,८४,८६,१०० रुपैया शेयर पूँजी र १३,७६,३६,७६९ रुपैया कूल कारोबार रहेको बताइएको छ ।

Leave a Reply