उपासना महिला साकोसको चालु आ.व.मा कर्जा लगानी रु.१० करोड पु-याउने लक्ष्य

काठमाडौं/ काठमाडौंको नागार्जुन नगरपालिका- ४, सितापाईलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्षमा शैयर पूँजी रु.१ करोड ६० लाख, बचत संकलन रु.९ करोड र कर्जा लगानी रु.१० करोड पु-याउने लक्ष्य रहेको सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले बताउनु भएको छ । यही असोज २३ गते सम्पन्न सो संस्थाको १२औं वार्षिक साधारण सभाको अध्यक्षता गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले त्यस संस्थाको समग्र अवस्था , गतिविधि र भावी कार्यक्रमको बारेमा प्रकाश पार्दै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको साथ सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दा कोरोना महामारीको विषम परिस्थितिमा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो । उक्त सभामा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले उपासना महिला साकोसको सबै सूचकाङ्क राम्रो देखिएको बताउनु हुदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उहाँले राष्ट्रिय सहकारी बैंक लि.को गतिविधि लगायतका विषयमा समेत प्रकाश पार्नु भएको थियो । यस्तैगरी जिल्ला सहकारी संघ लि.,काठमाडौंका महासचिव मनोज भण्डारीले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको उपासना महिला साकोस सहकारी मर्म र भावना अनुरुप राम्रोसँग सञ्चालन भएको देखिएको भन्दै ‘यो संस्थाका शेयर सदस्यहरुलाई यसै संस्थामा ढुक्क भएर कारोवार गर्न आग्रह गर्दछु’, भन्नुभयो ।

त्यसै संस्थाका सल्लाहकार अनुपमान राजभण्डारी लगायतको आतिथ्यता रहेको साधारण सभालै त्यसै संस्थाकी अध्यक्ष महर्जनले प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मैया चापागाईँले प्रस्तुत गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु बीच छलफल सम्पन्न गरी पारित ग-यो ।
साधारण सभाबाट पारित वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा सो संस्थाको शेयर पूँजी रु.१ करोड ३४ लाख ९९ , बचत संकलन रु. ७ करोड ७२ लाख २१ हजार , कर्जा लगानी रु. ८ करोड ७० लाख २७ हजार, आम्दानी रु. १ करोड २० लाख २३ हजार, खर्च रु. ९९ लाख ९५ हजार र मुनाफा रु. २० लाख २८ हजार रहेको उल्लेख छ ।

साधारण सभामा उक्त संस्थाको उद्यमी महिला सम्मानबाट कुमुदपुरी भारती, उपासना सम्मान- २०७८ बाट सञ्जय श्रेष्ठ (सितापाईला चस्मा घर), उत्कृष्ट जोडी सम्मानबाट शिव भुजेल र श्रेया भुजेल, उत्कृष्ट समूह नयाँ बिहानी समूह, उत्कृष्ट नियमित बचतकर्ता पार्थ भट्ट, उत्कृष्ट कर्जाबाहक पुरस्कार जुने कार्की, उत्कृष्ट कर्मचारी सलोनी मोक्तान तथा पत्रकार काजी श्रेष्ठ र समाजसेवी राजेन्द्र थापालाई सम्मान गरिएको थियो ।

Leave a Reply