भरतपुर / बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेलले आफू बागमती प्रदेशको सहकारी मन्त्री भइरहदा सहकारी क्षेत्रको विकास र हितका लागि सबैले सम्झनलायक केही न केही काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चितवनको भरतपुर महानगरपालिका-३, न्युरोडमा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लि.ले आज आयोजना गरेको आफ्नो स्वागत तथा सम्मान कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्दै आफू सदस्य भएको यस संस्थामा मन्त्री भएर आउन पाउँदा खुशी लागेको र मिलेसम्म यस संस्थाका कार्यक्रमहरुमा आफू सहभागी भई सबैसँग भेटघाट र छलफल गर्ने बताउनुभयो । आफ्ना शेयर सदस्य समेत रहेका मन्त्री पौडेलको कार्यकालको सफलताको कामना गर्दै आज चौतारी बचत तथा ऋण सहकारी संस्था लि.ले उहाँको भव्य स्वागत तथा सम्मान गरेको थियो । सोही संस्थाका अध्यक्ष विष्णुप्रसाद कँडेलले अध्यक्षता , उपाध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तव्य र सचिव रामशरण सिलवालले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सोही संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्णप्रसाद पौडेल , पूर्व अध्यक्ष विष्णुबहादुर लोहनी , नि:बर्तमान अध्यक्ष कृष्ण पुरी र पूर्व सल्लाहकार तथा समाजसेवी बामदेब खनालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष कँडेलले ‘हाम्रो यस संस्थाका शेयर सदस्य बलराम पौडेल ज्यू बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दा आफूहरुलाई खुशी लागेको छ र म हाम्रो यस संस्थाको तर्फबाट माननीय मन्त्री ज्यूको कार्यकाल सफल बनोस् भनी कामना गर्दछु’, भन्नुभयो । उक्त अवसरमा उहाँले त्यस संस्थाको गतिविधि र अवस्था बारे प्रकाश पार्नु हुँदै हाम्रो यस संस्थाका शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतका कारण कोरोना महामारीको प्रतिकूल अवस्थामा पनि हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो ।
त्यस कार्यक्रममा त्यस संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, बतर्मान तथा पूर्व सल्लाहकारहरु एवं कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।