छोलेश्वर कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न

छोलेश्वर कृषि सहकारी संस्था लि., भक्तपुरको १०औं वार्षिक साधारण सभा भक्तपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालको प्रमुख आतिथ्यतामा बासु मा.वि.को सभाहलमा २०८१ मंसिर ८ गते सम्पन्न भयो । उक्त साधारण सभाको प्रमुख अतिथि सुवालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले वडाका संस्थाहरुमा ऋण लिएर सावा ब्याज नतिर्नेको नामावली वडामा उपलब्ध गराएमा शिफारिश रोक्का गरी तिनीहरुबाट ऋण र ब्याज तिराउन विशेष पहल गरिदिने बाचा गर्दै साधारण सभा सफलताको शुभकामना दिनुभयो ।
त्यस अवसरमा मित्र संस्था ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले छोलेश्वर साकोस समुदाय आधारित संस्था भएकोले समुदायको हितका लागि सामाजिक गतिविधि र शेयर सदस्यहरुलाई सीपमूलक आयमूलक तालिम समय समयमा आयोजना गर्नुपर्छ र सदस्यहरुको सांस्कृति विकासको लागि बाजागाजाको तालिम दिंदा संस्थाको लोकप्रियतामा थप बृद्धि हुन्छ भन्दै साधारण सभा पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
यसैगरी अर्को मित्र संस्था भिन्तुना साकोसका कोषाध्यक्ष गणेशप्रसाद सुवालले ‘सहकारीले सदस्य केन्द्रित कार्यक्रम मात्र नगरी समुदायको विंकासका लागि योगदान दिनु पनि जरुरी छ’, भन्नुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण बासुकलाको अध्यक्षतामा सम्पन्न साधारण सभामा जिल्ला सहकारीका प्रचण्ड प्रकाश प्रधान, संस्थाका उपाध्यक्ष नारामांन दथेपुथे र सचिव दीपक बासुकलाले संस्थाको गतिविधिबारे चर्चा गर्दै संस्थाको १०औं वार्षिक साधारण सभाको सफलताको कामना व्यक्त गर्नुभयो । साधारण सभाको दोश्रो सत्रमा संस्थाका सचिव बासुकलाद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम बासुकलाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *