काठमाडौं महानगरपालिका-३१, शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को २० औं वार्षिक साधारणसभा यही भदौ २४ गते शुक्रबार सोही संस्थाकी अध्यक्ष विना बुधाचार्यको अध्यक्षतामा सम्पन्न भयो ।सो साधारण सभाको बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले ज्ञानज्योति महिला उत्थान साकोसले महिला दिदीबहिनीहरुको जीवनस्तर माथि उठाई आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । उहाले मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पु-याइरहेको सहकारी क्षेत्रको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । त्यसै अवसरमा नेफ्स्कूनका प्राचार्य तथा सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिना र कास्कूनका सचिव शालिकराम पुडासैनीले शुभकामना मन्तव्य व्यक्त गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको ज्ञानज्योति महिला उत्थान साकोसको थप प्रगतिको कामना गर्नुभयो ।
उक्त साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाकी अध्यक्ष विना बुधाचार्यले ‘स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.का गतिविधिको बारेमा प्रकाश पार्दै यसका शेयर सदस्यहरु ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको अथक परिश्रमले यो संस्था आफ्नो लक्ष्यमा सफलताका साथ अगाडि बढिरहेको छ’, भन्नुभयो ।
विभिन्न विधामा उत्कृष्ट उद्यमी महिलाहरु, उत्कृष्ट शेयर सदस्य , उत्कृष्ट बचतकर्ता लगायतलाई सम्मानित
आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने नीति सो साधारण सभाले पारित गरेको छ । साधारण सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा यो संस्थामा शेयर सदस्य संख्या १,५१५ जना , शेयर पूँजी रु.१,८८,४३,००८, निक्षेप संकलन रु.१३,४३,४७,६८२ र जगेडा कोषमा रु.१,०८,८०,३१३ रहेको उल्लेख छ । नेफ्स्कूनले सञ्चालन गरिरहेको प्रोबेशन ब्राण्डमा आबद्ध रहेको सो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्नुका साथै शेयर सदस्यहरुका लागि सीपमूलक तालिम सञ्चालन गरी शेयर सदस्यहरुलाई उद्यमशील बन्न सहयोग गर्दै आएको छ । यो संस्थाले समय-समयमा सहकारी शिक्षा/तालिम कार्यक्रमका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको बताइएको छ ।