दक्षिण बाराही महिला साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । श्री शिव तथा सरस्वती मन्दिर प्रङ्गडमा श्री शिव तथा सरस्वती सेवा समिति र माता सरस्वती युथ क्लवको संयुक्त सहकार्यमा सम्पन्न त्यस रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गरेको आयोजक दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक दीपा श्रेष्ठ क्षेत्रीको भनाई छ । आयोजक दक्षिण बाराही महिला बचत तथा ऋण सहकारीको संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी , बालकोट उप-शाखाको प्राविधिक सहयोग सम्पन्न भएको थियो । रक्तदाताहरुलाई दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष निर्जला ढुंगेल दाहालले प्रमाण-पत्र प्रदान गर्नुभयो । सोही संस्थाकी सचिव पार्वती घिमिरे भण्डरीले रगत अभावले विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

समय-समयमा विभिन्न रचनात्मक सामाजिक गतिविधि सञ्चालन गर्दै आएको सो संस्थाको आयोजनामा यस अगाडि यही जेठ १४ स्वास्थ्य शिविर सञ्चालन भएको थियो । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न त्यस शिविरमा त्यसै संस्थाका शेयर सदस्य , कर्मचारी लगायत गरी १७७ जनाको स्वास्थ्य परीक्षण भएको आयोजकको भनाई छ ।

गत चैत्र १ गते आफ्नो २४औं स्थापना दिवस मनाएको सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ ।

Leave a Reply