काठमाडौं/ प्रस्ताबित नेपाल सहकारी बैंक लि.दर्ताको लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको जानकारी प्राप्त भएको छ । प्रस्तावित नेपाल सहकारी बैंक लि. को सञ्चालक समितिले सो बैंक दर्ताका लागि आइतबार नेपाल राष्ट्र बैंक समक्ष आवश्यक कागजात बुझाएको थियो । उक्त सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सो बैंक दर्ताको लागि चाहिने आवश्यक सबै कागजात बुझाएको सोही बैंकका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधब दुलालले अलगपथलाई बताउनुभयो । त्यस अवसरमा गभर्नर अधिकारीले नेपाल सहकारी बैंक लि. दर्ताको लागि आवश्यक कागजात र प्रक्रिया पुगे नपुगेको हेरेर आवश्यक प्रक्रिया र कागजात पुगेको रहेछ भने यसको दर्ता गरिने बताउनुभएको सो भेटघाटका एक सहभागीको भनाई छ । अघिल्लो महिना त्यस बैंकको सञ्चालक समितिले सहकारी विभागका रजिष्टार र उप-रजिष्टारलाई भेटेर उक्त बैंक दर्ताको लागि आवश्यक कागजात बुझाएको सोही बैंक श्रोतले जनाएको छ ।
सहकारी क्षेत्रमा एउटा मात्रै सहकारी बैंकले राम्रोसँग सेवा प्रवाह गर्न नसकेकोले नेपाल सहकारी बैंक लि. स्थापनाको लागि प्रक्रिया अगाडि बढाएको र देशभर कार्यक्षेत्र बिस्तार गर्ने उद्देश्य लिएको त्यस बैंकको चुक्ता पूँजी रु.२ अर्ब ५० करोड रहेको बताइएको छ ।
हाल सहकारी क्षेत्रमा राष्ट्रिय सहकारी बैंक लि. मात्र कार्यरत छ ।