ललितपुर/ ललितपुरको थसिखेलमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औँ वार्षिक साधारण सभा शनिवार ललितपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री भुसालले प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.ले आर्थिक , सामाजिक र सांस्कृतिक क्षेत्रमा पु-याएको योगदान र यसले गरिरहेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारीको माध्यमबाट उत्पादन बृद्धि , रोजगारीको सृजना र र्गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सकिने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती , जिल्ला सहकारी संघ लि.,ललितपुरका अध्यक्ष माधव दुलाल , राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँ लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै सहकारीको माध्यमबाट उत्पादन बृद्धि, रोजगारी श्रृजना र गरिवी न्युनिकरण गरी मुलुकको समृद्धिमा योगदान गर्न सकिने बताउनुभयो ।
साधारण सभामा सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष तिमिल्सिनाले सो संस्थाको आर्थिक वर्ष २०७७/०७८ को कार्य प्रगति विवरण र आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गर्ने कार्य योजनाको बारेमा प्रकाश पार्नुभयो । साधारण सभाबाट त्यस संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु वीच छलफल गरी पारित गरिएको थियो । साधारण सभाबाट पारित भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा महिला शेयर सदस्य संख्या ८ हजार २५ र पुरुष शेयर सदस्य संख्या १ हजार ६ सय २४ , शेयर पूँजी रु.५ करोड ५५ लाख ८८ हजार १ सय , निक्षेप संकलन रु.५४ करोड १८ लाख ४४ हजार १ सय २४ , कर्जा लगानी रु.४० करोड ३ लाख ६३ हजार ६ सय १७ रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्य, शेयर पूँजी, निक्षेप संकलन र कर्जा लगानीमा बृद्धि भई उक्त आर्थिक वर्षमा महिला ८ हजार १ सय ७९ र पुरुष ३ हजार ४ सय २३ गरी जम्मा शेयर सदस्यका संख्या ११ हजार ६ सय २ , शेयर पूँजी रु.६ करोड ९७ लाख १७ हजार ८ सय , निक्षेप संकलन रु.६२ करोड ९४ लाख ११ हजार ८ सय ३५ र कर्जा लगानी रु.६९ करोड २४ लाख ३५ हजार ४ सय ६१ रहेको उल्लेख छ ।
सांस्कृतिक कार्यक्रम समेत गरिएको त्यस साधारण सभामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।