काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को १३औं स्थापना दिवस तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यतामा आज विहान बलम्बुस्थित क्वाथ : मैदानमा सो कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा प्रमुख अतिथि तामाङले यस बलम्बु च्याउ सहकारी संस्थाले लि.ले च्याउको उत्पादन, विक्री वितरण तथा च्याउ सम्बन्धी अध्ययन / अनुसन्धानमूलक कार्य गर्दै राम्रोसँग अगाडि बढेको देख्ता आफूलाई खुशी लागेको छ भन्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यस अवसरमा बलम्बु च्याउ सहकारी संस्था लि.का अध्यक्ष अमर सिंहले उक्त संस्थाको समग्र अवस्थाको बारेमा प्रकाश पार्दै स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो संस्थाका शेयर सदस्य महानुभावहरुको निरन्तर साथ र सहयोगले गर्दा स्थापना भएको छोटो समयमा नै यसले राम्रोसँग प्रगति गरी नेपालको सहकारी क्षेत्रमा आफ्नो छुट्टै परिचय कायम गर्न सफल भएको भन्दै यो संस्थालाई यहाँसम्म ल्याइपु-याउन योगदान गर्नु हुने सबैमा आभार व्यक्त गर्दछु भन्नुभयो ।
सोही कार्यक्रममा त्यसै संस्थाका जेष्ठ शेयर सदस्य पूर्ण महर्जनलाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समिति हरुका पदाधिकारी तथा सदस्यहरु , शेयर सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
आफ्ना शेयर शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको त्यस संस्थाले च्याउ उत्पादन र विक्री वितरणमा महत्वपूर्ण योगदान गर्नुका साथै बलम्बु एरियाका स्थायीयबासीहरुलाई समेत च्याउको उत्पादन लगायतका कार्यमा लाग्न प्रेरित गर्ने र उनीहरुलाई सकेको सहयोग गर्दै आएको छ । त्यसका साथै उक्त संस्थाले च्याउको बारेमा अध्ययन र अनुसन्धानमूलक कार्यलाई पनि राम्रोसँग अगाडि बढाइरहेको छ ।