ललितपुर/ बागमती प्रदेश सहकारी संघ लि.को आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोगमा सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम आजबाट ललितपुरको खुमलटारस्थित ट्रिनिटी क्याफेमा शुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने उक्त तीन दिवसीय तालिमको राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालकी बरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सहकारी क्षेत्रका आयकर बृद्धि लगायतका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लि. सहकारी संघ/संस्थाको साथमा रहेर अगाडि बढ्ने बताउनुभयो । उहाँले ‘सहकारीको विकास र प्रवर्द्धनमा बाधक ऐन / नियमहरुको संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले राज्यका सम्बन्धित निकायसँग लबिङ गर्ने लगायतका कार्य गरिरहेको छ’, भन्नुभयो । उक्त अवसरमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले सहकारीलाई मर्यादित व्यवसाय बनाउनुपर्छ भन्ने अभिप्रायका साथ सहकारी संघहरुको गुणस्तर बृद्धि होस् भन्ने उद्देश्यले सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम आयोजना गरिएको बताउनुभयो । सोही संघका बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले सो तालिम उद्घाटन-सत्रको अध्यक्षता गर्दै नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सहकारी ऐनमा भएको व्यवस्था विपरीत सहकारी संघ/संस्थाको आयकर बृद्धि हुनु दु:खद भएको भन्दै त्यसलाई तत्काल खारेज गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यसै संघका सचिव देवराज न्यौपानेले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जन लगायतको आतिथ्यता रहेको थियो । शनिबार समापन हुन सो तालिममा बागमती प्रदेश सहकारी संघ लि. अन्तर्गतको रसुवा बाहेक बाँकी सबै जिल्ला संघका गरी २९ जना प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।