बालकुमारी साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि., नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको प्रमुख आतिथ्यतामा २०८१ पुस २० गते शनिबार थिमि बैङ्क्वेट चारदोबाटो, भक्तपुरमा सम्पन्न भयो । प्रमुख थाम्सुहाङ्गले दीप प्रज्वलन गरि साधारण सभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले सहकारीमाथि आक्रमण भइरहेको छ, संसद सडक जताततै सहकारीकै चर्चा भइरहेको छ भन्दै सबै सहकारीकर्मीहरु एकजुट हुन सकेमा सहकारीलाई कसैले केही गर्न नसक्ने बताउनुभयो । उहाँले नेपाल सरकारले ल्याएको सहकारी सम्बनधी केही ऐन संशोधन गर्ने अध्यादेशका केही बुँदाले बचत तथा ऋण सहकारी संस्थालाई नकारात्मक अशर गर्ने बताउदै भुमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव ज्यूले सहकारीलाई अशर गर्ने यस्ता बुँदा संघीय संसदको आउदो अधिवेशनमा पेश गर्ने प्रतिस्थापन विधेयकबाट सच्याउने भन्नुभएको छ, सच्चिन्छ होला, म पनि यसलाई सच्याउने प्रयास गर्ने गरि होमवर्कमा लाग्छु’, भन्नुभयो । बालकुमारी साकोस राम्रोसँग अगाडि बढेको र शेयर सदस्यहरुले मन्दिरमा भगवानको पूजा गरे जसरी यसको पूजा गर्न अनुरोध गर्दै बालकुमारी साकोस जस्ता राम्रा सहकारी संस्थाले आफूले गरेको राम्रा कामलाई सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न सुझाव दिनुभयो ।

यसैगरी साधारण सभामा जिल्ला सहकारी संघ लि.,भक्तपुरका सचिव रामप्रसाद कासुला र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक पञ्चकृष्ण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै सो साधारण सभाको सफलताको शुभकामना सहित उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उहाँहरुले समुदायमा आधारित रहेर सहकारी सिद्धान्त, ऐन र नियम पालना गरेर सञ्चालन भएका बालकुमारी साकोस सहित भक्तपुरका सहकारी संस्थाहरुको अवस्था राम्रो रहृको बताउनुभयो ।

साधारण सभामा संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयकका केही बुँदा सहकारी सिद्धान्त विपरीत रहेकोले त्यसलाई सच्याउनु पर्ने बताउनुभयो । उहाँले मध्यपुर थिमि, शंखधरचोकमा बाहिरका व्यक्तिहरुले खोलेको सहकारी संस्थाले मध्यपुर थिमिका बासिन्दाहरुबाट संकलन गरेको बचत उनीहरुलाई फपर्ता नगरी भागेको हृदयविदारक घटना पश्चात् मध्यपुर थिमिका बासिन्दाहरुको छरिएर रहेको पूँजीलाई एकत्रित गरि सहकारीको माध्यमबाट शे्यर सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले मध्यपुर थिमिका प्रतिष्ठित विभिन्न बिधामा रहेर काम गरेका २८ जना महानुभावले रु.७ लाख पूँजीबाट २०५७ असोज २ गते स्थापना भएको यो संस्थामा शेयर सदस्य महानुभावहरुको स्नेह र सक्रिय साथ सहयोग तथा कर्मचारीहरुको मेहनतले यतिबेला रु.२ अर्ब १२ करोड कारोबार पुगेको छ भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । त्यस संस्थाको क्रियाकलाप र आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमको बारेमा प्रकाश पार्दै उहाँले ‘शंखधरचोका रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको यस संस्थाको मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिकाको वडा नं.१ देखि ८ सम्म, चाँगुनारायण नगरपालिकाको वडा नं.१ र २ तथा भक्तपुर नगरपालिकाको वडा नं.१ भित्र कार्यक्षेत्र रहेको र यो आफ्नो उद्देश्य अनुरुप सफलतापूर्वक अगाडि बढिरहेको छ’, भन्नुभयो ।

शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको साधारण सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक चन्द्रमोहन जोशीले संस्थाको लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाले ती प्रतिवेदन पारित ग-यो ।

सोही संस्थाका उपाध्यक्ष महेन्द्रकुमार जोशीले स्वागत मन्तव्य , सचिव पृथ्वीराम श्रेष्ठले सञ्चालनर कोषाध्यक्ष सुदीप श्रेष्ठले धन्यबाद ज्ञापन गरेको साधारण सभामा सो संस्थाका जेष्ठ शेयर सदस्यहरु लक्ष्मीकुमार साछे श्रेष्ठ, ध्रुब प्रजापति, गणेशमाया श्रेष्ठ र तेजमाया प्रजापतिलाई जेष्ठ शेयर सदस्य सम्मान गरियो भने संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठलाई कदरपत्र प्रदान गरी सम्मान गरियो ।

यस्तै सोही संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये नवरत्न इङ्लिस बोर्डिङ स्कुल, दूधपोखरी थिमि, भक्तपुरबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट जीपीए(GPA)का साथ उत्तीर्ण भएका एलिजा श्रेष्ठ (३.९६ जीपीए) , श्रीजिका श्रेष्ठ (३.९६ जीपीए) र सुुसंगत श्रेष्ठ(३.७२ जीपीए) लाई सम्मान गरियो ।

यसैगरी संस्थाले आयोजना गरेका तालिमहरुमा प्रशिक्षकको भूमिका निर्वाह गरेका राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, नेफ्स्कूनका अधिकृतहरु कमल अधिकारी, प्रेमनाथ वाग्ले, सोविता मैनाली र रविन्द्र श्रेष्ठ, फोटोग्राफर नवीन भाषिमा, नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालका डा.रोजिना श्रेष्ठ र जेष्ठ सदस्यलाई धार्मिक अवलोकन भ्रमण एवं विस्तारित मञ्चका चिकित्सकीय टोली प्रमुख डा.विनय श्रेष्ठलाई कदरपत्र प्रदान गरि सम्मान गर्नु्का साथै ऐतिहासिक जिब्रो छेड्ने जात्रामा जिब्रो छेडी पशुपति परिक्रमा गरि संस्कृति जगेर्ना गर्न भूमिका खेल्ने मध्यपुर थिमि नगरपालिका वडा नं.४ निवासी वीरेन्द्र भक्त गजु श्रेष्ठलाई रु.१० हजार नगद सहित सम्मान गरियो भने श्री आदर्श मा.वि. लायकू थिमिमा कक्षा १० मा अध्ययनरत जेहेन्दार छात्र/छात्रा रिकेश रंजितकार र दिया श्रेष्ठ तथा श्री बालप्रेमी मा.वि. विष्णुवीरस्थान थिमिमा कक्षा १० अध्ययनरत जेहेन्दार छात्रा/छात्र प्रियंका कुमारी र समर्पण वि.क.लाई २०८१ को बालकुमारी छात्रवृत्ति प्रदान गरियो ।

उक्त अवसरमा साधारण सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि , अतिथि र पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *