२०८१ जेष्ठ १७ र १८ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा होटल सिटी गाँउ, भक्तपुरमा दुई दिवसीय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भयो । उक्त तालिम समापन समारोहमा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष

कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थामा आयकर ऐन आउनुभन्दा पूर्व कर तिर्न नपर्ने अवस्थाको स्मरण गर्दै सामुदायिक सदस्य केन्द्रित सहकारी संस्थालाई पूर्ण कर छुटको बन्दोबस्त हुनुपर्ने बताउनुभयो । तर केही सहकारी संस्थाहरुले सहकारीको नाममा व्यक्तिगत फाइदा लिने विकृतीले गर्दा राज्यले सहकारी ऐन, २०७४ मा भएको व्यवस्था भन्दा पनि बढी आयकर उठाएको उहाँको भनाइ थियो । उहाँले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधान कार्यदलले दिएका सुझावहरु कार्यान्वयनमा सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको नाममा बचत दुरुपयोग एवं बद्मासी गर्नेहरुलाई कार्वाही गरी बचत सुरक्षा गर्न सरकारले बिलम्ब गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
सोही संघका सञ्चालक एंव तालिम व्यवस्थापन उप-समितिका संयोजक इन्द्रप्रसाद व्याञ्जुले सहकारी संस्थामा कार्यरत कर्मचारी तथा सञ्चालकहरुले कर तथा कोषको प्रभावकारी व्यवस्थापन गर्न सकून भने उद्देश्यले यो तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले तालिमले संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पु-याउने विचार व्यक्त गर्नुभयो ।
त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले धन्यवाद मन्तव्य व्यक्त गर्दै तालिममा सिकेका कुराहरु कार्यरत संस्थामा व्यवहारिक प्रयोग गर्नुको साथै अरुलाई पनि सिकाई हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सि.ए. विजय सुकुपायोले कर व्यवस्थापनबारे सहजिकरण गर्दै प्रभावकारी करको व्यवस्थापनले अनावश्यक दण्ड जरिवानाबाट बच्ने बताउनुभयो । तालिमको समापन समारोह सञ्चालन सो संघका कर्मचारी रोकेश जोशीले गर्नुभयो ।
तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिमबाट अग्रिम कर कट्टी, कर दरहरु, राजस्व शीर्षक, अनलाइन कर दाखिला, इटिडिस, कोष बाँडफाँड, कोषको उपयोगिता लगायतका विषयहरु सिकेको बताउनुभयो । तालिममा उक्त संघका सदस्य संस्थाका सञ्चालक एवं कर्मचारी गरी ३६ जनाको सहभागिता रह्यो ।

सो अवसरमा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरियो ।