भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८१ पुष २५ गते भक्तपुर बैक्वेट, हाकुफोहीटी, भक्तपुरमा सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ,२०८१ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको दीप प्रज्वलन गरि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सोही संघका अध्यक्ष

लाखाजुले सहकारीमा लोभी सदस्य, कमजोर नियमन निकाय र सहकारी अभियानका कारण सहकारीमा समस्या भएको बताउदै सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशले सहकारी क्षेत्रलाई पार्ने नकारात्मक असरको विष्लेषण गरेर मात्र सहकारी अभियानका शीर्ष निकायहरुले धारणा राख्नुपर्ने बताउनुुभयो । उहाँले सहकारी अध्यादेशबारे सदस्य संस्थाहरुलाई जानकारी गराउनुको साथै अध्यादेशमा संशोधन गर्नु पर्ने बुदाँहरुको एकमत धारणा बनाउन यो कार्यक्रमको आयोजना गरेको हो भन्नुभयो । उहाँले यस बर्ष राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून र बागमती प्रोस्कूनबाट उत्कृष्ट संघको पुरस्कार प्राप्त गर्न सफल भएकोमा सदस्य संस्था, पूर्व सञ्चालक र शुभचिन्तक सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा आफ्नो वपचार व्यक्त गर्दै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष दीपक पनेरुले समस्या भएका सहकारीको मात्र समस्या समाधान गर्ने गरी अध्यादेश जारी हुनुपर्नेमा समग्र सहकारी सिध्याउने गरी यो अध्यादेश आएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाँले यो अध्यादेशबारेमा जिल्लामा छलफल गरी सहकारी अभियानले एकमत भएर अध्यादेश संशोधनका लागि पहल र दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरिकृष्ण बल्लले व्यक्तिगत बचतको सीमा दश लाख रुपैया र ऋणको सीमा प्राथमिक पूँजी कोषको १५ प्रतिशत तोक्नु भनेको श्रोत भन्दा बढी ऋण लगानीले समस्या निम्त्याउने बताउनुभयो । उहाँले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त विपरित व्यक्तिगत बचत सीमा तोक्नु गलत हुनुकोसाथै यस व्यवस्थाले बचत फिर्ताको चाप बढाई समग्र सहकारी क्षेत्रलाई समस्यामा ल्याउने विचार व्यक्त गर्नुृभयो ।
यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले उक्त अध्यादेशमा भएको व्यवस्था र यसले पार्ने असरको बारेमा कार्यपत्र प्रस्तुत गर्दै अध्यादेश लागू भइसकेको अवस्थामा सहकारीले कानुन पालनाका लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई तत्काल नकारात्मक असर गर्ने बुदाँहरुको तत्काल संशोधनका लागि सहकारी अभियानले एक मत भई दबाब र कानुनी उपचारको खोजी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
यस्तै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सो संघको प्रस्तुतीकरण गर्दै यो अध्यादेशले सहकारीलाई नियन्त्रण गर्न प्राधिकरण गठनले सहकारीको मर्म मर्ने विचार व्यक्त गर्नुभयो । उहाँले स्वनियमको नाममा स्वेच्छेचारी ढंगले सहकारी सञ्चालन गर्दा सहकारीमा समस्या देखिएका कारण सरकारले बाध्य भएर अध्यादेशमार्फत प्राधिकरण गठनलाई अगाडि सारेको हुन सक्ने बताउदै प्राधिकरणले सहकारीलाई कारोबारको आधारमा बर्गीकरण गरी मापदण्डहरु जारी गर्नुपर्ने उहाँको भनाई थियो । उक्त कार्यक्रममा सदस्य संस्थाका प्रतिनिधि, पूर्व सञ्चालक र कर्मचारी गरी १८२ जनाको सहभागिता रहेको थियो ।

सो कार्यक्रमले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१ मा तपसिल बमोजिम संशोधनका लागि पहल कदमी गर्ने साझा धारण बनाइयो ।
तपसिल
१) नेपालको संविधान, २०७२ ले बचत गर्न पाउने नागरिकको मौलिक हक हनन् हुने गरी कार्यक्षेत्रको आधारमा बचत तथा ऋणको व्यक्तिगत सीमा तत्काल खारेज गर्नुपर्ने ।
२) नेपालको संविधान, २०७२ ले बचत गर्न पाउने नागरिकको मौलिक हक हनन् हुने गरी एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थामा सदस्य हुन नसक्ने व्यवस्था खारेज गर्नुपर्ने ।
३) सहकारी संस्थामा नेतृत्वको बृद्धि विकास गर्न र नेतृत्व नै खाली हुन सक्ने अवस्था भएकोले कुनै पनि व्यक्ति सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा वढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन सक्ने व्यबस्थालाई संशोधन गरी कुनै पनि व्यक्ति सहकारी संस्थाको अध्यक्ष पदमा निरन्तर दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्नुपर्ने ।
४) सहकारी संस्थाको सञ्चालक प्रारम्भिक माथिल्लो तहको कुनै एक संघमा र संघमा रहेको सञ्चालक माथिल्लो तहको कुनै एक संघमा सञ्चालक हुन सक्ने व्यवस्था थप्नुपर्ने ।