भक्तपुर जिल्ला बचत संघको आयोजनामा बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर/ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को व्यवस्थापन उप-समितिको आयोजनमा शनिबार स्वीट होम, भक्तपुरमा १ दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भयो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न सो तालिममा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाको सेवा सदस्यको घरदैलोमै पु-याउने अवधारणाको विकास भएर सहकारी संस्थाले बजार प्रतिनिधिहरुको व्यवस्था गरेको बताउदै बजार प्रतिनिधिले रकम संकलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य, मान्यता र सिद्धान्तबारे ज्ञान हासिल गरी सदस्यलाई त्यस सम्बन्धी सेवा प्रवाह गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

उक्त आवसरमा सोही संघका सञ्चालक एवं व्यवस्थापन उप-समितिका संयोजक इन्द्रप्रसाद व्याञ्जुले बजार प्रतिनिधि सहकारी संस्थाको प्रमुख सेवा प्रदायक भएकोले संस्थाको बस्तु तथा सेवा विक्रीमा महत्वपूर्ण भूमिका रहने बताउदै सहकारी संस्था र आफ्नो व्यक्तिगत विकासका लागि तालिमबाट सिकेका ज्ञान र सीप व्यवहारमा प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजिकरण गर्नु भएको सो तालिममा सोही संघका सदस्य संस्थाहरुका ३३ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ । तालिममा सहभागीहरुलाई उक्त संघका अध्यक्ष लाखाजुले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

उक्त तालिमको समापन कार्यक्रम सञ्चालन गर्दै त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीका बस्तु तथा सेवा बजारमा सदस्य माझ पु-याउनुका साथै सदस्यको नियमित हेरचाह तथा सहकारी शिक्षा र सन्देश प्रवाहमा बजार प्रतिनिधिले जोड दिनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले तालिममा सहभागीहरुले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा यस तालिमले सहयोग पु-याएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले तालिमबाट सहकारीका सिद्धान्त , मूल्य तथा सहकारीका बजार प्रतिनिधिको काम, कर्तव्य र भूमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार प्रतिनिधिले ध्यानदिनुपर्ने कुराहरु, बजार व्यवस्थापन र बजारीकरणका सीप लगायतका विषयहरु बारे नयाँ कुरा सिकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *