भक्तपुर/ यही बैशाख १४ र १५ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरको शंखधर चोकस्थित शंखधर पार्टी प्यालेसमा दुई दिवसीय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भयो । सो तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको कर तथा कोष व्यवस्थापन उच्च व्यवस्थापनका कर्मचारीको काम भएकोले सोबारे क्षमता बृद्धिमा तालिमले टेवा पु-याउने विचार व्यक्त गर्नुभयो । अध्यक्ष लाखाजुले सहकारी संघ/ संस्था बीचको कारोबारमा अग्रिम व्याज कर १५ प्रतिशत लागु हुुनु अव्यवहारिक र अन्यायपूर्ण रहेको भन्दैं सुधारको लागि सम्बन्धित निकायमा अवाज उठाउदैं आएको बताउनुभयो । सहकारी संस्थाहरुमध्ये ७० प्रतिशत सहकारी संस्था स्थानीय तह अन्तर्गत सञ्चालनमा रहेकोले स्थानीय चुनावमा सहकारीको विकासका एजेण्डाबारे सहकारीकर्मीहरुलाई सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
त्यसै संघका सचिव एंव तालिम व्यवस्थापन उप-समितिका संयोजक जगनाथ प्रजापतिले संस्थाले कर तथा कोष व्यवस्थापन सहितको आर्थिक विवरणबारे अध्ययन तथा जानकारी राख्न सकून् भने उद्देश्यले यो तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले तालिमले सहकारी संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पु-याउने विचार व्यक्त गर्नुभयो ।


……………………………………………………………………..

