भक्तपुर/ भक्तपुरको सूर्यविनायकमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा होटेल स्वीट होम, भक्तपुरमा यही चैत्र १८ गते एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । उक्त अवसरमा सोही संघका उपाध्यक्ष हरि बल्लले बजार प्रतिनिधि सहकारी संस्थाको प्रतिनिधि भएकोले सहकारी संस्थालाई विश्वासिलो र भरपर्दो बनाउने अहम् भूमिका रहने बताउनुभयो । बजारमा सहकारी संस्थाप्रतिको विश्वासलाई भन्दा पनि व्याजदर र बजार प्रतिनिधिको अनुहार हेरेर सदस्यले बचत गर्ने गलत मानसिकताको विकास भएको बताउदै उपाध्यक्ष बल्लले सदस्यहरुलाई सहकारी सम्बन्धी सही सूचना र शिक्षा दिई सदस्यको बचत सुरक्षाका लागि बजार प्रतिनिधि सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान र सीप सहकारी संस्थाको विकासका साथै व्यक्तिगत जीवनमा पनि प्रयोग गरी व्यक्तिले उन्नति तथा प्रगति गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
उक्त संघका व्यवस्थापन उपसमितिका सदस्य तुल्सी हरि प्रजापतिले संस्थाका लागि बजार प्रतिनिधि रहर नभई आवश्यकता रहेको बताउदै तालिमले बजार प्रतिनिधिका चुनौती, समस्या र त्यसको समाधानका उपायहरुको सिकाईले कार्यक्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । त्यसै उप-समितिकै सदस्य सत्यनारायण पक्काले त्यस समापन समारोहको सञ्चालन गर्दै तालिममा सिकेका कुराहरुको व्यवाहारिक प्रयोगमा जोड दिर्दै बजारमा सहकारीको सकारात्मक सन्देश प्रवाहमा बजार प्रतिनिधिको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो ।
उक्त तालिम त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुको सहजीकरण गर्नु भएको थियो । तालिममा बजंगबली बचत तथा ऋण सहकारी संस्था लि.का बजार प्रतिनिधि शुष्मा डाँगीले छोटो अवधिको तालिममा पनि समूह कार्य, खेल, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यो तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पु-याएको बताउनुभयो । त्यस तालिममा सदस्य संस्थामा कार्यरत ३४ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।